चितवन । नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन, व्यावसायिक सम्बन्ध विस्तार तथा पर्यटन व्यवसायमा सहकार्यका अवसर सिर्जना गर्ने उद्देश्यले ‘नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६’ आयोजना हुने भएको छ।
आगामी अक्टोबर २७ अर्थात् कात्तिक ११ गते साँझ ६ बजेदेखि चितवनको शक्तिखोरस्थित लटौली स्याङ्चुरीमा विशेष बीटुबी (व्यवसायदेखि व्यवसाय) नेटवर्किङ तथा समापन रात्रिभोज कार्यक्रम आयोजना गर्न लागिएको हो।
कार्यक्रममा भारतको दिल्ली, लखनउ, कानपुर र छत्तीसगढबाट २४ जना ट्राभल तथा टुर अपरेटर सहभागी हुने आयोजकले जनाएको छ। कार्यक्रममा चितवन क्षेत्रका होटल तथा रिसोर्ट सञ्चालक, महाप्रबन्धक र आतिथ्य सत्कार क्षेत्रका नेतृत्वकर्तालाई भारतीय पर्यटन व्यवसायीसँग प्रत्यक्ष व्यावसायिक सम्बन्ध स्थापित गर्ने अवसर प्रदान गरिनेछ।
कार्यक्रममार्फत भारतीय ट्राभल व्यवसायीसँग सहकार्य, होटलका कोठा बुकिङ, समूहगत पर्यटक आगमन तथा पर्यटन प्याकेज निर्माणका सम्भावना खोजिने अपेक्षा गरिएको छ। साथै, भारतीय बजारमा चितवनका होटल तथा रिसोर्टको पहिचान विस्तार गर्न र पर्यटन क्षेत्रका सरोकारवालाबीच सहकार्य बढाउन कार्यक्रम उपयोगी हुने विश्वास गरिएको छ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटा र चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अतिथिका रूपमा सहभागी हुने जनाइएको छ।
त्यसैगरी, पाटा (PATA) का अध्यक्ष नरेन्द्र भट्ट, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रवीन्द्रप्रसाद शेर्चन, उपाध्यक्ष प्रवीण गुरुङ तथा नेपाल पर्यटन बोर्डका कायममुकायम प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरलगायत पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहनेछ।

कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति पाँच हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। उक्त शुल्कमा नेटवर्किङ कार्यक्रममा सहभागिता, भारतीय ट्राभल अपरेटर तथा पर्यटन क्षेत्रका नेतृत्वकर्तासँग अन्तरक्रिया र रात्रिभोज समावेश गरिएको छ।
यो कार्यक्रम मुख्यतः व्यावसायिक नेटवर्किङमा केन्द्रित रहनेछ। यसमा प्रदर्शनी टेबल, प्रचारप्रसारका स्टल वा होटल तथा रिसोर्टको छुट्टै प्रदर्शनको व्यवस्था रहने छैन। साथै, छुट्टाछुट्टै व्यावसायिक भेटघाटको सुनिश्चितता पनि नगरिएको आयोजकले स्पष्ट पारेको छ।
कार्यक्रममा सहभागिताका लागि दर्ता गर्ने अन्तिम समय अक्टोबर २६ अर्थात् कात्तिक १० गते दिउँसोको मध्यसमयसम्म तोकिएको छ। सीमित स्थान रहेकाले पहिले दर्ता गर्ने सहभागीलाई प्राथमिकता दिइने जनाइएको छ।
कार्यक्रममा सहभागी हुन इच्छुकले होटल इलाका जनरल म्यानेजर प्रदीप के. न्यौपानेसँग मोबाइल नम्बर ९८४०८१८८०१ मा सम्पर्क गर्न सक्नेछन्।
नेपाल र भारतबीच पर्यटन सम्बन्ध सुदृढ बनाउँदै व्यावसायिक साझेदारी विस्तार गर्ने लक्ष्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले चितवनको पर्यटन बजारलाई भारतीय पर्यटकसँग जोड्न तथा होटल र रिसोर्ट व्यवसायको व्यावसायिक अवसर बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Advertisement




