भरतपुर/चितवनमा आगामी २०८३ मंसिरमा ‘विल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ । प्रदर्शनीलाई व्यवस्थित तथा भव्य रूपमा सम्पन्न गर्न चितवन उद्योग संघ, एसवान होम्स प्रा.लि. र भि ग्रुप इभेन्ट्स प्रा.लि.बीच औपचारिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
आगामी २०८३ साल मंसिर २५, २६ र २७ गतेसम्म तीन दिन सञ्चालन हुने उक्त एक्स्पोका लागि समझदारी पत्रमा चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष एवम् प्रदर्शनी विभाग प्रमुख गजेन्द्र अधिकारी तथा एसवान होम्स प्रा.लि. र भि ग्रुप इभेन्ट्स प्रा.लि.का तर्फबाट सुरज न्यौपानेले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता पत्रमा एक्स्पोलाई प्रभावकारी र सफल बनाउन दुवै पक्षले निर्वाह गर्नुपर्ने जिम्मेवारी तथा सहकार्यका क्षेत्रहरू स्पष्ट रूपमा उल्लेख गरिएको छ । उक्त सम्झौता पत्रमा भि ग्रुप इभेन्ट्स प्रा.लि.का प्रबन्ध निर्देशक विपिन कँडेल तथा चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेश प्रसाद सिलवालले समेत हस्ताक्षर गर्नुभएको छ ।

हस्ताक्षर कार्यक्रममा चितवन उद्योग संघका पूर्व अध्यक्ष वामदेव खनाल, संघका सञ्चार अधिकृत राजु भट्ट लगायत सरोकारवाला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । निर्माण, आवास तथा सम्बन्धित औद्योगिक प्रविधि प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस प्रदर्शनीले स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
Advertisement




