नेपालले दशकौंदेखि डेढ सयभन्दा बढी राष्ट्रहरूसँग व्यापार गर्दै आएको छ । तीमध्ये ८० प्रतिशत राष्ट्रसँग व्यापार घाटा छ । नेपालले अमेरिका, इटाली, कतार, पोल्यान्डदेखि युगान्डा, लिथुआनिय, सोमालिया, भेनेजुएलासम्मका देशहरूसँग व्यापार गर्दै आएको छ । जसमध्ये भारत, चीन, अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्याण्ड, अस्ट्रेलिया, ब्राजिल, मलेसिया, संयुक्त राज्य अमेरिका, हङकङ, साउदी अरेबिया, युक्रेन, बंगलादेश, भियतनाम, जापान, क्यानडा, कोरिया गणतन्त्र, फ्रान्स, सिंगापुर लगायत १३० भन्दा बढी देशहरूसँग दशकौंदेखि व्यापार घाटा छ ।
नेपालको किर्गिस्तान, जाम्बिया, लेबनान, कङ्गो, घाना, क्रोएसिया, साइप्रस, कोलम्बिया, जर्जिया, यमन, नर्वे, डेनमार्कलगायत ३५ बढी देशसँग भने व्यापार घाटा छैन । अर्थात् आयात निर्यातमा नेपाल फाइदामा छ ।
आर्थिक वर्ष २०७२/७३ मा देशको कूल व्यापार घाटा ७ खर्ब ४ अर्ब थियो । एक दशकको अवधिमा व्यापार घाटा दोब्बरभन्दा बढी अर्थात् १७ खर्ब नाघिसकेको छ । गत आर्थिक वर्षमा मात्रै नेपालको व्यापार घाटा १७ खर्ब ८१ अर्ब पुगेको भन्सार विभागको तथ्याङ्कमा देखिन्छ ।
कुनै पनि देशले विदेशबाट कति वस्तु तथा सेवा खरिद गर्छ र विदेशमा कति बिक्री गर्छ भन्ने कुराले त्यस देशको अन्तर्राष्ट्रिय व्यापारको अवस्था देखाउँछ । देशले निर्यात गर्ने वस्तुभन्दा आयात गर्ने वस्तुको मूल्य बढी हुँदा व्यापार घाटा बढेको हो ।
व्यापार घाटाले देशको उत्पादन क्षमता, उपभोगको प्रवृत्ति, औद्योगिक विकास, विदेशी मुद्राको आवश्यकता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमतालाई देखाउँछ । अर्थात् कुनै देशले आफूलाई आवश्यक पर्ने वस्तु कति स्वदेशमै उत्पादन गर्छ र कति विदेशबाट ल्याउँछ भन्ने कुरा व्यापार घाटाको संरचनाले देखाउँछ ।
व्यापार घाटा बढ्दै जानुले देशको उत्पादन क्षेत्रलाई कमजोर बनाउँदै लैजाने पूर्ववाणिज्य सचिव चन्द्र घिमिरे बताउँछन् । निरन्तर व्यापार घाटा हुँदै जाँदा त्यसले देशको आयात धान्ने क्षमतालाई कमजोर बनाउने उनको भनाइ छ । ‘हाम्रो व्यापारले देशको उद्योग र उत्पादन क्षेत्र कमजोर भइरहेको देखाउँछ । यहाँ सीमित मात्रामा सीमित वस्तु उत्पादन हुन्छन् । जसले बाह्य बजारसँग प्रतिस्पर्धा गर्ने क्षमतालाई कमजोर बनाउँछ । यसका साथै भू–परिवेष्ठित राष्ट्र र प्रविधिको कम प्रयोगले यहाँको उत्पादनलाई कमजोर बनाइदिएको छ’, उनले भने, ‘हाम्रो बजार पनि सीमित छ । नयाँ बजार विस्तार गर्न नसक्नु पनि अर्को कारण हो । उपभोक्ताको माग परिवर्तन हुँदा उद्योगभन्दा व्यापार बलियो हुँदै गयो । यसले अब अर्थतन्त्र चलायमान बनाउन आवश्यक पर्ने लगानीलाई घटाउँछ । रोजगारी सृजना कम हुँदै जान्छ र पलायनलाई बढाउँछ ।’
व्यापार घाटाले समग्र अर्थतन्त्रलाई नै कमजोर बनाउँदै लैजाने उनको भनाइ छ ।
१० वर्षअघि अर्थात् आर्थिक वर्ष २०७३/७४ मा ९ खर्ब ११ अर्ब रहेको देशको व्यापार घाटा आव २०७४/७५ मा ११ खर्ब पुगेको थियो । त्यसैगरी क्रमश: आव २०७५/७६ मा १३ खर्ब २१ अर्ब, २०७६/७७ मा १० खर्ब ९९ अर्ब व्यापार घाटा पुगेको थियो ।
आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ९८ अर्ब, २०७८/७९ मा १७ खर्ब २० अर्ब, २०७९/८० मा १४ खर्ब ५४ अर्ब र आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब ४० अर्बमै व्यापार घाटा रहेको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ मा १५ खर्ब २७ अर्ब र आर्थिक वर्ष २०८२/८३ मा १७ खर्ब ८१ अर्ब व्यापार घाटा पुगेको छ ।




