-कृष्ण रेग्मी
संस्मरण
- चम्किलो जीवनको भित्री अँध्यारो
प्रवास — जहाँ हामी अवसरको खोजीमा जान्छौं, सपना बोकेर लाग्छौं, र कहिलेकाहीँ आफैंलाई गुमाउँछौं। समाजले हेर्ने दृष्टिकोण, पारिवारिक अपेक्षा र आत्माभित्रको बेचैनीको संगम, जब जीवनका सबै भौतिक उपलब्धिहरू पनि आत्मसन्तुष्टिमा परिणत हुन सक्दैनन्।
यो लेख मेरो व्यक्तिगत अनुभव हो — म आफैं मानसिक अवसाद (डिप्रेशन) को शिकार भएँ, जबकि बाहिरबाट हेर्दा जीवन सम्पन्न, सुनौलो र आदर्श देखिन्थ्यो।
⸻
- अध्याय १: सम्पन्नता र एकान्तको विरोधाभास
२०२० देखि २०२२ — दुई वर्ष यस्तो बिते, जुन मेरो जीवनकै सबैभन्दा चुनौतीपूर्ण र आत्मासँगको भिडन्तको समय थियो। म काठमाडौंको बुढानीलकण्ठमा राम्रो घर थियो मेहनतको कमाईले जोडेको , रगत पसिना चुहाएर जम्मा गरेको बैंक खातामा केही करोड रुपैयाँ थिए, चितवनमा तीनवटा घर थिए, र सुखद भविष्यको खोजीका लागि रेष्टुरेन्टमा दिनको २२ घण्टासम्म काम गर्थें।
कोरानाको समयमा रेष्टुरेन्टमा २०/२२ काम गर्दा परिस्थिती यसरी प्रतिकूल हुदै गयो कि, परिवारका सदस्य अलग भए , आफन्तहरु वोल्न छोडे , साथीभाईहरु टाढा भए तर व्यापार चार गुणा वढ्दै गयो , प्रसस्त युरो जम्मा हुदै गयो , मसंग त्यहि मात्रै वांकी रह्यो ! कति दिन चल्थ्यो र यसरी , दिन प्रति दिन म एक्लो हुदै गए । सामाजिक रूपमा अलग, मानसिक रूपमा डिप्रेस , र आत्मिक रूपमा शून्य।
व्यापार चौगुणा राम्रो थियो, संगत देशका मेयर/सांसद/मन्त्रीहरुसंग मात्रै हुन्थ्यो , देख्नेलाई मेरो जीवन संसारलकै सफल ठान्थ्यो, तर मलाई आफैंले आफूलाई असफल महसुस गर्नु परेका दिनहरु थिए ति दिनहरु ,
⸻
- अध्याय २: आत्मा बोल्दैन, तर चिच्याउँछ
एक दिन आफैंसँग डर लाग्न थाल्यो। साथीहरूसँग कुरा गर्न मन लाग्दैनथ्यो। हाँसोमा बग्ने अनुहारभित्र रोइरहेको मन कसैले देख्दैनथ्यो। धेरैलाई लाग्दथ्यो, “के छैन र उससँग?” तर म भन्न सक्दिनथें — “मन छैन”।
मानसिक स्वास्थ्यको विषयमा हाम्रो समाज अझै संवेदनशील छैन। परिवारले ‘सहनु पर्छ’, ‘जागिर खोसिन्छ’, ‘इज्जत जान्छ’ भन्ने डर देखाउँछ। मानसिक स्वास्थ्यलाई कमजोरी ठानिन्छ। तर यो रोग हो, रोगजस्तै स्वीकार गरिनु पर्ने अवस्था हो।
⸻
- अध्याय ३: एकान्तको औषधि — जुगेडीको बेल्जियन हाइट
त्यही समय, मैले सबैसँगको सम्पर्क काटें। चितवनको जुगेडीमा रहेको एउटा एकान्त स्थान — बेल्जियन हाइट — मेरो मानसिक उपचारस्थल बन्यो। त्यहाँ म आफूलाई चिन्न थालेँ, लेख्न थालेँ, बोल्न थालेँ — आत्मासँग।
त्यस शून्य ठाउँमा बसेर, म एक–एक गरी आफ्नो भावना बुझेँ, स्वीकारेँ, र आफ्नै मनलाई माया गर्न थालेँ। त्यहाँ मैले ‘धेरै थाहा पाएर होइन, धेरै भोगेर’ बाँच्न थाले र आज म पून : समाजमा फर्किएको छु । कमजोर आत्मबल हुनेहरु सायद यो परिस्थितीवाट फर्किदैन थिए होला !
म मुस्कुराइरहेछु, तर त्यो मुस्कान भित्र झन गहिरो पीडा लुकेको थियो। यो तस्बिर कुनै प्रेरणा बन्न सकोस् भन्ने चाहना हो — कि एउटा समय थियो जब म आँशुलाई दबाउँदै मुस्कुराइरहेथेँ, र आज म आत्माको गहिराइबाट हाँस्न थालेको छु।
म अहिले नयाँ जीवनको चरणमा छु। मैले आफूलाई फेरि सत मार्गमा लगाएको छु। अब हरेक अनुहारमा सम्भावना देख्छु, हरेक पीडालाई आफ्नै जस्तो अनुभव गर्छु। म बाँच्न थालेको छु — साँच्चिकै बाँच्न।
मैले यो स्टाटस लेख्नुको कारण यही हो ,किनकि तपाईंमध्ये धेरै म जस्तै अवस्था भोगिरहनु भएको हुन सक्छ। हो, पैसा, सम्पत्ति, समाजको मान्यता — यी सबैको पछि लाग्दै, हामी कहिले आत्मासँग कुरा गर्न बिर्सिन्छौं।
(लेख्दालेख्दै ……)
Advertisement




