दशैँ (बडादशैँ वा विजयादशमी) नेपाली समुदाय तथा सनातन धर्मावलम्बीहरूले असोज/कार्तिक महिनाको शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाउने सबैभन्दा ठूलो, लामो र महत्त्वपूर्ण सांस्कृतिक चाड हो।
असत्यमाथि सत्य, दानवीय प्रवृत्तिमाथि दैवी शक्ति र अन्यायमाथि न्यायको अन्तिम विजय भएको प्रतीकका रूपमा मनाइने पर्व नै दशैँ हो। पौराणिक मान्यता अनुसार देवी दुर्गाले महिषासुर नामक दैत्यको वध गरेको र भगवान् श्रीरामले रावणमाथि विजय प्राप्त गरेको खुसियालीमा यो पर्व मनाइन्छ।
दशैँ केवल धार्मिक अनुष्ठान मात्र नभई टाढिएका पारिवारिक सदस्यहरूलाई एकै ठाउँमा जोड्ने, मान्यजनप्रति आदरभाव प्रकट गर्दै आशीर्वाद लिने, र आपसी वैमनस्यता भुलेर सद्भाव साटासाट गर्ने पवित्र सामाजिक पुनर्मिलनको उत्सव हो।
मानिसभित्र रहेका कुविचार, अहंकार र नकारात्मक सोचजस्ता दानवीय प्रवृत्तिको अन्त्य गरी दया, क्षमा, भ्रातृत्व र सकारात्मक ऊर्जाजस्ता दैवी गुणहरूको प्रतिष्ठा गर्ने आत्मशुद्धिको पर्व दशैँ हो।
- शिवप्रसाद बराल
कार्यकारी अधिकृत
नेपाल कुखुरा व्यवसायी मञ्च , भरतपुर , चितवन
१. तपाईंको लागि दशैँको खास अर्थ के हो? बाल्यकालको दशैँ र अहिलेको दशैँमा के भिन्नता पाउनुहुन्छ? यस पटकको दशैं योजना के छ?
दशैँ केवल एउटा चाडपर्व मात्र होइन, यो नेपाली समाजमा आपसी सद्भाव, पारिवारिक पुनर्मिलन र आत्मसमीक्षा गर्ने एक महत्वपूर्ण अवसर हो। असत्यमाथि सत्यको र दुर्गुणमाथि सद्गुणको विजयको प्रतीकको रूपमा लिइने यो चाड हामीबीचको साम्प्रदायिक एकता र सांस्कृतिक धरोहरलाई जीवन्त राख्ने माध्यम पनि हो। बाल्यकालको दशैँ एउटा स्मरणीय उत्सव जस्तो लाग्थ्यो, जहाँ नयाँ कपडा, पिङ, टीका, जमरा र दक्षिणाको विशेष महत्व हुन्थ्यो। तर, समय र जिम्मेवारीसँगै दशैँको स्वरूपमा केही परिवर्तन आएको छ। अहिलेको दशैँ भौतिक उमंग भन्दा पनि परिवार र आफन्तजनहरूसँग भेटघाट , बाल्यकाल देखिका साथीहरु सगको पुर्नमिलन, र परम्परालाई निरन्तरता दिने शान्त अवसरमा परिणत भएको छ। यस वर्षको दशैँमा पनि मेरो जन्म भुमी नेपाल कै अत्यन्तै रमणीय र पर्यटकीय , स्वच्छ , स्वस्थ , हिमशिखर हरु र तालैतालको शहर कास्की पोखराको रमणीय ठाउमा पारिवारिक जमघटलाई नै प्राथमिकतामा राख्दै मान्यजनबाट टीका तथा आशीर्वाद ग्रहण गर्ने र टाढा रहेका आफन्तहरूसँग भेटघाट गर्ने योजना रहेको छ।
२. दशैँमा तपाईंको भान्सामा मासुका के–कस्ता परिकारहरू पाक्छन्? तपाईंलाई सबैभन्दा मनपर्ने मासुको परिकार कुन हो?
चाडपर्वको समयमा नेपाली भान्सा मासुका विभिन्न परिकारहरूबिना अधुरो जस्तै मानिन्छ। हाम्रोजस्तो पर्वतीय संस्कृतिमा खसी, कुखुरा, र माछाका विभिन्न परिकारहरू जस्तै पारम्परिक झोल मासु, सुख्खा भुटन र मसलादार फ्राइ विशेष रूपमा पाक्ने गर्दछन्। यी मध्ये स्वास्थ्यका दृष्टिकोणले सन्तुलित र परम्परागत स्वाद बोकेको हल्का झोलसहितको खसीको मासुको परिकार खाने गर्छौ , मलाई व्यक्तिगत रूपमा सबैभन्दा बढी कुखुराका परिकारहरु मन पर्ने भएता पनि चाडपर्वमा पारिवारिक रूपमा हुने जमघटहरुमा खसी, बोकाका मासुका परिकार नै खाने गरिन्छ ।
३. चाडपर्वमा मासु किन्दा वा खाँदा त्यसको स्वच्छतामा कत्तिको ध्यान दिनुहुन्छ?
चाडपर्वका बेला बजारमा मासुको माग अत्यधिक हुने भएकाले स्वच्छतामा विशेष सचेत हुनुपर्छ भन्ने मेरा लागि यो अति संवेदनशील विषय हो। मासु खरिद गर्दा त्यसको रङ्ग, बास्ना र ताजगी राम्ररी हेर्नुपर्छ। खुला ठाउँमा राखिएको वा झिंगा भन्भनाएको मासुभन्दा सुरक्षित, चिस्यानयुक्त तथा स्वास्थ्य मापदण्ड पूरा गरेका स्थानबाट मात्र मासु खरिद गर्नुपर्छ। घरमा पकाउँदा पनि राम्ररी पखालेर राम्रोसँग पाकेको सुनिश्चित गरेर मात्र उपभोग गर्नु एक सचेत उपभोक्ताको रूपमा हाम्रो पहिलो जिम्मेवारी हो।
४. दशैँमा पशु बलि वा बध गर्दा पशुपन्छीलाई अनावश्यक सास्ती दिनुहुँदैन र मानवीय ढङ्गले बध गरिनुपर्छ भन्ने विषयमा तपाईंको दृष्टिकोण के छ?
चाडपर्वका नाममा पशुपन्छी माथि हुने अनावश्यक क्रूरता वा सास्तीलाई कुनै पनि मानवीय दृष्टिकोणले समर्थन गर्न सकिंदैन। पशुपन्छी बलिको परम्परालाई समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्छ र यदि बध गरिहाल्नु परेमा पनि पशुपन्छीलाई सकेसम्म कम कष्ट हुने गरी वैज्ञानिक तथा मानवीय विधि अपनाउनु पर्छ। पशुपन्छी प्रति करुणा राख्नु र उनीहरूलाई अनावश्यक सास्ती नदिनु एक सभ्य र मानवीय समाजको पहिचान हो।
५. सरकारले मंसिर १ देखि उपत्यकामा र क्रमश देशैभरी ’पशु बधशाला तथा मासु जाँच ऐन’ कडाइका साथ लागू गर्दैछ। एक नागरिक/उपभोक्ताको हिसाबले यस कदमलाई कसरी हेर्नुभएको छ?
नेपाल सरकारले ऎन तथा नियमावली तयार भएको करिब २७,२८ बर्ष पछि मंसिर १ गतेबाट काठमाडौ उपत्यकामा क्रमशः देशैभर ’पशु बधशाला तथा मासु जाँच ऐन’ कडाइका साथ लागू गर्ने तयारी गर्नु उपभोक्ताको स्वास्थ्य र स्वच्छताको दृष्टिले अति नै स्वागत योग्य र दूरदर्शी कदम हो। आधुनिक र वैज्ञानिक बधशालाको प्रयोगले रोग ब्याधी फैलिने जोखिमलाई कम गर्नुका साथै नागरिकको मौलिक स्वास्थ्य अधिकारलाई सुरक्षित गर्दछ। यद्यपि, यो नियम कागजी पानामा मात्र सीमित नभई यसको प्रभावकारी कार्यान्वयन, आवश्यक पूर्वाधारको विकास र व्यवसायीहरूको क्षमता अभिवृद्धिमा सरकार र सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ।
६. हाम्रा पाठक तथा सम्पूर्ण नेपालीहरूलाई दशैँको के–कस्तो शुभकामना दिन चाहनुहुन्छ?
विजया दशमीको सुअवसरमा यहाँका सम्पूर्ण आदरणीय पाठकवर्ग तथा देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति र सुस्वास्थ्यको मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । यो चाडले हामी बीचको आपसी सद्भाव, भाइचारा र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस्।




