कस्तो कस्तो अनुहार बनाएर चेली गोमा प्रोफेसर वरदान नेपालीको घरमा आइन्।प्रोफेसर घरमा बसेर एउटा उपन्यास पूरा गर्दै थियो। औपचारिक कुराकानीपछि गोमाले मुख खोलिन् , ” गुरु बा,हजुरको बारेमा अलि नकारात्मक कुरा गरेको पाएँ। सबैले कुरा काटे।हुन त यस्तो कुरा बोकेर ल्याउने काम राम्रो होइन,तर आफ्नो हृदयले अति सम्मान गरेको,हाम्रो समाजको लागि वरदान मानेको गुरुको अपमान सह्य भएन,मन मानेन,परिणामको चिन्ता नगरी यो जोखिम मोल्न मन लाग्यो।सतर्क रहनुहोला गुरुदेव ! ” मुस्कुरायो प्रोफेसर र पुलुक्क चेलीको अनुहार हेर्यो। ” छोरी,नाम भन्न मिल्छ।?” गोमाले पाँच नाम भनिन् । ” छोरी,माधवपुरमा गएर उखाने बाको समर्थक फेला पार्न सकिन्छ?अयोध्यामा रावणको भक्त पाइन्छ?इस्लामावदमा मोदीजीको भक्त फेला पर्छ? ”
“हजुरको कुरै बुझ्न गाह्रो,अलि स्कूलमा गणित सिकाएजसरी बुझाए पो,अमूर्त भो गुरु बा कुरा,अलि खुलाएर बाख्यात्मक टिप्पणी चाहियो।” ” छोरी,ती सबै पात्रहरू माधवकुमार नेपालका आफन्त हुन् भने म ओली बा,उखानवस्ताद!अनि कसरी मेरो बिरुदावली गाउने काम गर्छन् त?म पनि मान्छे,सबैको अनुकूल बन्न सक्दिन। यो कथा अधुरो भयो। ” अधुरो कथा ” सुनेर तनाव दूर हुन्न। ल छोरी,अब एउटा काम गर,म पाँच नाम दिन्छु।तिनीहरू, अक्सर,सम्पुर्ण किताबमा आउने गर्छन् ।उनीहरूले तिमीलाई चिनेका छैनन्् ।सजिलो हुन्छ। म हुलिया दिन्छु।उनीहरूको सामुन्ने मेरो धज्जी उडाउने।अनि कथा पूर्ण हुन्छ। है? ” प्रोफेसरले पाँच नाम दियो।हुलियासहित।
एघार दिनपछि गोमा फेरि गुरु बाको घर आइन्,उज्यालो अनुहार बनाएर।” अधुरो कथा कस्तो भयो त छोरी?मेरो धज्जी उडाइयो? ” गोमाको अनुहारको उज्यालो दोब्बर भयो।” आम्मै,मलाई झन्नै पिटेको नि? सातो काढे! पछि मैले हजुरले सिकाएको भनेर खुलासा दिएपछि त पाँच किताब उपहार दिए।हैट,ती माधवपुरे धोबीहरूको कुरा सुनेर,अधुरो कथा बोकेर आएछु म।हुन त हजुर के हो?म मात्र होइन,मजस्ता हजारौं चेलाचेलीलाई थाहा छ। सरी गुरुदेव,नकारात्मक समाचार लिएर आएकोमा!” ” होइन होइन,आलोचना पनि चाहिन्छ।मैले पनि आफ्ना भूलहरू थाहा पाउनुपर्छ।आफूलाई थाहा नहुनसक्छ।केही भएको छैन।बोल्ने र लेख्ने मानिस एक सत्ता हो,हरेक सत्ताको प्रतिपक्षी हुन्छ। पीर नमान्नू!तिम्रो गुरु बालाई स्वमान थाहा छ।म सज्जनहरूको आफन्त हूँ।” एक झोला किताब गुरु बाले पनि उपहार दियो।गोमा मात्र होइन उनको पति विनोद खनाल पनि असल पाठक हुन् ।




