मौद्रिक नीतिको अर्को महत्वपूर्ण पक्ष के छ भने चालू आर्थिक वर्षको बजेटमा व्यवस्था भएअनुसार कोरोनाबाट अति प्रभावित पेसा र व्यवसाय सञ्चालनकालागि ५० अर्बको कोष कार्यान्वयनमा आउने भएको छ । मौद्रिक नीतिले उक्त कोष परिचालनको घोषणा गरेको छ । निश्चित मापदण्ड बनाएर ५० अर्बको कोष परिचालन गरिने छ । यो कोषको रकम पर्यटन, घरेलु, साना तथा मझौला उद्यमलगायत व्यवसायको संचालन र निरन्तरतामा उपयोग गरिने बताइएको छ । ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेलाई उद्यमशीलताको अवसर दिन यो रकम उपयोग हुने भएको छ । कोषको रकम बैंक तथा वित्तीय संस्थाबाट ५ प्रतिशत ब्याजमा कर्जाका रुपमा उपलब्ध हुनेछ । जसबाट धेरै साना उद्यमी, व्यवसायी, कृषकलगायातले राहत पाउनेछन् । मौद्रिक नीतिले ठूला बैङ्कहरूको मर्जर (बिग मर्जर) लाई प्रोत्साहन गर्ने भएको छ । त्यसैगरी पुनर्कर्जा कोषको आकार एक खर्ब नै कायम भएको छ । यसअघि नेपाल राष्ट्र बैङ्कले ६० अर्ब रुपैयाँबाट बढाएर एक खर्ब पु¥याएको थियो । पुनर्कर्जाको पहुँच गाउँ–गाउँमा पु¥याउने राष्ट्र बैङ्कले बताइसकेकोले त्यसको प्रत्यक्ष लाभ ग्रामिण क्षेत्रमा बसोबास गर्ने र सानोसानो उद्यम गरेर व्यवसाय गरिरहेकाहरुले लिने आशा गर्न सकिन्छ । त्यसैगरी कोभिड–१९ संकटबाट अति प्रभावित हवाई उड्डययन व्यवसाय, यातायात, होटल, रेस्टुरेन्टलगायतका पर्यटन क्षेत्रका उद्यम व्यवसाय पुनरुत्थानकालागि चालु पूँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा प्रवाहमा प्राथमिकता दिइने मौद्रिक नीतिमा उल्लेख छ । खासगरी सानो लगानीबाट स्वउद्यमी बन्न चाहनेलाई लक्षित गर्दै सानो कर्जालाई प्रोत्साहन गर्नेगरी मौद्रिक नीतिको विशेषता छ ।
मौद्रिक नीतिको अर्को विशेषता भनेको बैङ्कका सबै शाखा कार्यालयहरूले सहुलियत कर्जा अनिवार्य लगानी गर्नुपर्ने भएको छ । मौद्रिक नीतिले बैङ्कका सबै शाखाले सहुलियत कर्जा लगानी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको हो । त्यस्तै लघुवित्त वित्तीय संस्थाहरूले कर्जामा लिने ब्याजदरमा नेपाल राष्ट्र बैङ्कले अधिकतम सीमा तोकिदिएको छ । अव कर्जामा लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था गरिएको छ । त्यसैगरी कृषि ऋण लिएका ऋणीलाई कृषि क्रेडिट कार्ड जारी गरिने छ । चालु आर्थिक वर्षको सुरुदेखि कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकलाई दिएँसगै उक्त कार्ड पनि जारी गर्न लागिएको हो । यसका लागि कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गर्नेछ भने कृषि क्षेत्रको कर्जा परिचालन गर्न कृषि बैंकलाई अगुवा बैंक बनाइने छ । जेहोस नीजि क्षेत्रलाई उत्साहित वनाउने गरी आएको मौद्रिक नीतिले देशकै आर्थिक विकासमा टेवा पु¥याउने विश्वास गरिएको छ ।
मौद्रिक नीतिले समग्रमा अर्थतन्त्रको गति बढाउने र वित्तीय स्थायित्व दिने आधार तयार गरेको छ । कोभिड– १९ को सङ्कटले सिर्जना गरेको अनिश्चितताबाट बाहिर निस्कने उपायको खोजी यो मौद्रिक नीतिले गरेको छ भन्दा अत्युक्ति नहोला । अर्को महत्वपूर्ण कुरा के छ भने मौद्रिक नीतिको सवै क्षेत्रले स्वागत गरेका छन् । यसको कार्यान्वयन सही ढंगले भयो भने कोरोनाका कारण संकटमा परेको अर्थतन्त्रलाई माथि उठाउन मद्दत पुग्छ भन्ने सवैको विश्वास छ । यसैगरी सङ्कटबाट प्रभावित क्षेत्रलाई प्राथमिकतामा आधारमा सहुलियत प्रदान गर्ने, सो क्षेत्रलाई बचाई राख्ने साथै शीघ्र आर्थिक पुनःउत्थानका लागि वित्तीय साधनको उपलब्धता गराउने दिशामा यो नीति केन्द्रित छ । आन्तरिक उत्पादन तथा रोजगारी प्रवद्र्धन हुने, उद्यमशीलता विकास हुने क्षेत्रमा वित्तीय स्रोत केन्द्रित गरिने, मूल्य तथा बाह्य क्षेत्र स्थायित्वमा जोखिम नआउने गरी वित्तीय सहजीकरण गर्ने दिशामा समिष्टगत विवेकशील नियमनका उपाय अपनाइने मौद्रिक नीतिको विशेषता छ । यद्यपि नीजि क्षेत्रले तत्काल स्वागत गरेपनि पर्ख र हेरको मनस्थितिमा नै छ । कुनै नाममा यसमा संशोधन वा परिमार्जन गरिने हो कि भन्ने चिन्ता पनि छ । तर पनि मुलुकको आर्थिक अवस्थामा सुधार ल्याउन नीजि क्षेत्रको नै महत्वपूर्ण भूमिका हुने हुँदा मौद्रिक नीतिले अहिले गरेको सम्वोधनमाथि कुनैपनि अवस्थामा संशोधन गरिने छैन भन्ने विश्वास छ । समग्रमा मौद्रिक नीतिले औद्योगिक उत्पादनमुखी र देशभित्रै रोजगारी सिर्जना गर्ने आधार तयार गरेको हो कि भन्ने विश्वास जगाएको छ । जेहोस् अहिले सवैतिरबाट गरिएको विश्वासमाथि कतैबाट दखल दिने काम नहोस् ।
कोभिड १९ का कारण अर्थतन्त्र थिलथिलो भएको छ । रोजगारीका संभावनाको क्षेत्र साँघुरिएको छ । नीजि क्षेत्रले राहतको माग गरिरहेको छ । लगानी नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा पैसा थुप्रिएको छ । लगानी गर्ने नयाँ क्षेत्रको पहिचान हुन सकेको छैन । यी र यस्ताकारण अर्थतन्त्र ओरालो दिशामा गईरहेको बेला सार्वजनिक भएको मौद्रिक नीति अवसर र संभावना अनि आर्थिक विकासको ढोका खोल्न प्राणबायू सावित भएको हो त ? यो प्रश्नको उत्तर स्वागतबाटै आएको छ । तर पनि अझै धेरै आशा र विश्वास गरिहाल्ने अवस्था छैन । सरकारले सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । यो हास्यास्पद देखिन्छ । विश्व बैंकले आर्थिक बृद्धि दर ऋणात्मक हुन पनि सक्ने संकेत गरिरहँदा वर्तमान सन्दर्भमा मेल खानेगरी बृद्धिको लक्ष्य तोकिनुपथ्र्यो । जेहोस महात्वाकांक्षी आर्थिक बृद्धिलाई प्राण भर्ने गरी मौद्रिक नीतिले सम्वोधन गर्ने प्रयास गरेको छ । यसलाई त्यही अर्थमा स्वागत गर्दा अत्युक्ति नहोला । नेपालकै आर्थिक अवस्थाको कुरा गर्दा पूँजीगत खर्च चुनौतीपूर्ण बन्दै आएको सर्वविदित छ । चालू आर्थिक वर्षको अन्तिम महिनामा खर्च अधिक हुने तर अन्य समयमा खासै विकास नहुने स्थितिले के नेपालको सम्मृद्धिले दीर्घकालीन गति लिन सक्ला ? यो विषयलाई पनि मौद्रिक नीतिले सम्वोधन गरेको भए बेथिति समाधानमा सुधार आउने थियो । मौद्रिक नीतिका औजारहरूले अर्थतन्त्रमा लगानी, रोजगारी, उत्पादनलगायतका सबै क्षेत्रलाई प्रभावित पार्छ । यसपटक केन्द्रीय बैङ्कले मौद्रिक नीतिमाथि मिहिन ढङ्गले अध्ययन गरेको छ । पक्कै पनि यो विगतकोजस्तो स्वाभाविक समय होइन । खासगरी ठूलो रोजगारीको सम्भावना रहेको साना तथा मझौला उद्यमलाई रक्तसञ्चार गराउनु वाञ्छनीय छ । अहिले देखिएका सबैजसो उद्यमी तथा व्यवसायीका असन्तुष्टिलाई मौद्रिक नीतिले सम्बोधन गर्न सक्नु यसको विशेषता हो । आशा गरौं मौद्रिक नीतिप्रति अहिले सवै क्षेत्रबाट भएको स्वागत कायम रहोस् । यसको कार्यान्वयन सफलता उन्मुख होस् ।




