भरतपुर/ जथाभावी एन्टिबायोटिक्सको प्रयोग गर्न नहुने भरतपुरमा आयोजना गरेको कार्यशाला गोष्ठिमा औलाइएको छ । चिकित्सकले पनि बिरामीलाई जथाभावी एन्टिबायोटिक्स सिफारिस गर्न नहुनेमा जोड दिएको छ ।
युएसएडको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार चितवनमा पत्रकारका लागि आयोजना गरेको कार्यशाला गोष्ठिमा सहभागी प्रशिक्षकहरुले एन्टिबायोटिक औषधिको उचित प्रयोग नगर्दा विश्वमा मृत्युदर बढ्दै गइरहेको बातए । एन्टिबायोटिक्सको जथाभावी प्रयोगले ज्यानै जाने खतर बढीरहेको उनिहरुले ईंगित गरेका छन ।
जिवाणुविद् डा. सन्तोष दुलालले औषधिको प्रभावकारिता नाश हुँदै जाने अवस्था सिर्जना भएकाले विश्वमा अत्याधिक एएमआरको वृद्धिले मृत्युदर समेत बढाएको बताए । ‘पहिले एउटा औषधीले निको पार्ने रोग अहिले धेरै औषधी प्रयोग गर्नुपर्ने अवस्था आएको छ,’ उनले भने, ‘एएमआरको मुख्य कारण भनेको औषधीको जथाभावी प्रयोग हो ।’
जथाभावी औषधी सेवन गर्नु र पूर्ण मात्रामा औषधी सेवन नगर्नु दुवै स्वास्थ्यको लागि हानिकारक भएको दुलालले बताए । ‘पूर्णमात्रामा एन्टिबायोटिक्सको सेवन गर्नुपर्छ, एकहप्तालाई दिएको औषधी ३ दिनमा छाड्ने बानी गलत हो,’ उनले भने, मैले यो औषधी खाएर ठिक भएको भन्दै अरुलाई पनि त्यहि औषधी प्रयोग गराउँदा एन्टिमाइक्रोबियल रेसिस्टेन्सको जोखिम बढ्ने गर्छ ।’
बजारमा उपलब्ध ५० प्रतिशत एन्टिबायोटिक्स औषधीमा रेसिस्टेन्स हुने उनले बताए । ‘एटम बमलाई चलाउन जान्नु भएन भने बिष्फोट हुन्छ,’ उनले भने, ‘बिचार गरेर आवश्यकता अनुसार डाक्टरको सल्लाहमा मात्रै औषधीको प्रयोग गर्नुपर्छ ।’
सन् २०२२ मा गरिएको ‘ग्लोबल रिसर्च अन एन्टिमाइक्रोबियल रेसिस्टेन्स’ नामक अध्ययनका अनुसार विश्वमा १२ लाख ७० हजार मृत्युमा एएमआर प्रत्यक्ष प्रमुख कारक भएको उल्लेख गरिएको छ । त्यस्तै अर्को एक अध्ययनका अनुसार सन् २०५० सम्ममा विश्वमा प्रत्येक वर्ष १ करोड मानिसको मृत्यु हुने र उपचारमा १०० डलर आर्थिक खर्च हुने उल्लेख गरिएको छ ।
सन् २०५० सम्ममा एसियामा ४७ लाख ३० हजार, युरोपमा तीन लाख ९० हजार, उत्तर अमेरिकामा तीन लाख १७ हजार, ल्याटिन अमेरिकामा तीन लाख ९२ हजार, अफ्रिकामा ४१ लाख ५० हजार मान्छेको मृत्यु एन्टिमाइक्रोबियल रेसिस्टेन्सबाट हुने आंकलन गरिएको छ ।
शारिरिक तथा जैविक दृष्टिकोण अनुसार पुरुषको तुलनामा महिलामा एन्टिमाइक्रोबियल रेसिस्टेन्सको जोखिम बढि हुने युएसएडकी डा. बिबेका श्रेष्ठले बताइन् । प्रजनन् उमेरका महिला, घर भित्र र बाहिरको काममा बढि संलग्न हुने महिला, ७० प्रतिशत महिला स्वास्थ्यकर्मी अग्रपंक्तिमा रहने र लैङ्गिक हिंसामा यौन रोग र एएमआर संक्रमणको जोखिम उच्च रहेको श्रेष्ठले बताइन् ।
त्यस्तै पुरुषमा पनि आफै औषधी किनेर खाने, औषधीको पूरा डोज नखाने, गम्भीर बिरामी नभएसम्म स्वास्थ्य सेवालाई जरुरी नठान्ने, मद्यपान र धुम्रपानको प्रयोग गर्ने बानीले एन्टिमाइक्रोबियल रेसिस्टेन्सको जोखिम बढाएको उनले बताइन् ।
समलिंगिमा पनि एन्टिबायोटिक्सले काम नगर्ने यौन रोगको सम्भावना र लैंगिक तथा अल्पसंख्यक समुदायले सामाजिक कारणले उपचार सेवा लिन नपाउँदा एन्टिमाइक्रोबियल रेसिस्टेन्सको जोखिम बढाएको डा. श्रेष्ठले बताइन् ।
एन्टिमाइक्रोबियल रेसिस्टेन्सले सन् २०३० सम्म थप दुई करोड ४० लाख मानिसहरुलाई चरम गरिबिमा धकेल्ने एक अध्ययनले बताएको छ ।
सन् २०५० सम्म वार्षिक ३.८ प्रतिशत कुल ग्राहस्थ उत्पादनमा असर गर्ने र विश्व अर्थतन्त्रमा १०० खरब अमेरिकि डलरको भार पर्ने अध्ययनले पुष्टि गरेको डा. दुलालले जानकारी दिए ।
रोकथाम र नियन्त्रण :
चिकित्सकको सल्लाह बाहेक जथाभावी एन्टिबायोटिक्सको प्रयोग नगर्नु नै एन्टिमाइक्रोबियल रेसिस्टेन्स रोकथाम र नियन्त्रणको उत्तम उपाए भएको डा. दुलालले जानकारी दिए ।
एन्टिबायोटिक्स बाँडेर नखाने, सरसफाइमा ध्यान दिने र बिरामीसँगको दुरी कायम गर्ने, कुनैपनि खोप नछुटाई लगाउने, बिरामी हुँदा अस्पताल वा नजिकैको स्वास्थ्य संस्थामा उपचार गराउने र स्वास्थ्यकर्मीको सल्लाह सुझाव अपनाउने गर्नुपर्ने उनको भनाइ थियो ।
मानिसमा सर्ने ७५ प्रतिशत सरुवा रोगहरु जनावरबाट नै सर्ने गरेको कार्यक्रममा औलाइयो । मानिसमा मात्रै नभएर एन्टिमाइक्रोबियल रेसिस्टेन्सको जोखिम कृषि र जनावरमा पनि देखिएको सवास्थय विज्ञको भनाई छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयले एन्टिमाइक्रोबियल रेसिस्टेन्सको अवस्था विकराल हुँदै गइरहेको भन्दै ‘स्वस्थ मानिस, स्वस्थ पशुपंक्षी, स्वच्छ वातावरण, एक स्वास्थ्य, सबै मिलि गरौँ प्रतिजैविक प्रतिरोध अन्त्य’ भन्ने नारा अगाडि सारेको छ ।
गाईभैसीँको दुधमा एन्टिमाइक्रोबियल रेसिस्टेन्सको मात्रा धेरै भएको डा. दुलालले बताए । ‘थुनेलोको कारण दुध दुषित हुन्छ, थुनेलो निको पार्न विभिन्न औषधी दिने गरिन्छ, उत्त दुध खाँदा हामीमा एन्टिमाइक्रोबियल रेसिस्टेन्सको जोखिम बढ्छ,’ उनले भने ।
पछिल्लो समय चितवन लगायत देशका विभिन्न ठाउँमा जनावरलाई ‘लम्पी स्किन’ नामक रोग भयावह रुपमा फैलिरहेको छ । उक्त रोग लागेका पशुबाट उत्पादित दुधको प्रयोगले एन्टिमाइक्रोबियल रेसिस्टेन्स बढाउन मद्त पुर्याउने डा. दुलालले बताए ।
‘बिरामी पशुलाई एन्टिबायोटिक दिँदा र दिएको १० दिनसम्म दुध सेवन नगर्नु राम्रो हो,’ उनले भने, ‘रोग निको भएपछि पुनः दुध पिउन सकिन्छ ।’
सुक्ष्म जीवाणु अर्बौँ वर्षदेखि बाँचिरहने भएकाले एउटा सुक्ष्म जीवाणुले अर्को जीवाणुलाई मार्न प्रयोग हुने पदार्थलाई एन्टिमाइक्रोबियल हो । उक्त जीवाणुले लगाएको रोग निको पार्न खाइने एन्टिबायोटिक्सले काम नगर्नुलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) वा ‘प्रतिजैविक प्रतिरोध’ भनिन्छ ।





