काठमाण्डौँ/श्रवण दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुका समस्या चुनौती र राज्यको भूमिका बारे आवाज उठाइदिन सञ्चारकर्मीहरूलाई श्रवणदृष्टिविहिन अभिभावक समाजका अध्यक्ष लाक्पा नेरु शेर्पाले आग्रह गर्नुभएको छ । गत बिहिबार अर्थात पुष १४ गते समाजले आफ्नो कार्यालयमा गरेको पत्रकारसगँको अन्तरक्रिया कार्यशालामा बोल्दै अध्यक्ष शेर्पाले नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ ले अपाङ्गतालाई १० प्रकारमा वर्गीकरण गरेको मध्य श्रवणदृष्टिविहिन अपाङ्गता पनि एक भएको तर अन्य अपाङ्गताका वर्ग मध्ये सबैभन्दा पछाडी परेको र समस्या भोगिरहेको वर्ग नै श्रवणदृष्टिविहीन अपाङ्गता भएकाले यसमा सबैले आवाज उठाएर प्रमुख मुद्दा बनाइदिन आग्रह गर्नुभएको हो ।
उहाँका अनुसार सुन्न र देख्न दुवै नसक्ने भएकाले यस्तो अवस्था भएका व्यक्तिलाई एक जना सहयोगी अनिवार्य २४ घण्टा आवश्यक पर्ने गर्दछ । एक जना सहयोगी अनिवार्य आवश्यक हुने भएकाले आर्थिक क्रियाकलापमा यस्ता परिवारका सदस्य जोडिन असम्भव देखिन्छ जसले उनीहरुलाई आर्थिक रुपमा ठुलो भार पारिरहेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि महासंघले पनि यस्ता पूर्ण असक्त अपांगतालाई राज्यले अनिवार्य एक जना सहयोगीको व्यवस्था गर्नुपर्ने भए पनि नेपाल सरकारले भने महासन्धिमा हस्ताक्षर गरिसकेको भए पनि अहिलेसम्म उक्त व्यवस्था लागु नगरेको अध्यक्ष शेर्पाले बताउनुभएको थियो । यीनै समस्याहरुलाई मध्यनजर गरी श्रवणदृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका जटिल चुनौती भएको कारणले आमसञ्चार माध्यमहरुले यो सवाल बारे जानकारी प्राप्त गरी उनीहरुको आवाजलाई समाजमा ल्याउन र सम्बन्धित निकायसम्म पुर्याउन टेवा पुगोस भन्ने उदेश्यले उक्त कार्याशाला आयोजना गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
प्राय दात्ती निकायहरुले स्ववकालत गर्ने अपाङ्गता वर्गहरुलाई नै प्राथमिकता राख्ने भएकाले अभिभावक समाजले आर्थिक चुनौतीहरुको पनि सामना गरिरहेको अध्यक्ष शेर्पाले बताउनुभएको थियो ।
श्रवणदृष्टिविहीन अपाङ्गता समयको आधारमा जन्मजात र जन्मपश्चात हुने र सुनाइ तथा दृष्टिमा रहेको क्षमताको आधारमा पूर्ण दृष्टिविहिन र पूर्ण बहिरा, पूर्ण दृष्टिविहिनता र आंशीक सुनाई, पूर्ण बहिरा र अल्पदृष्टियुक्त, आंशीक सुनाइ र कार्यत्मक सिमितता गरी ५ प्रकारले हुने गर्दछ ।
श्रवणदृष्टिविहीन अपाङ्गताको अनुसन्धान गर्ने, गराउने, अभिभावक तथा समुदायमा उनीहरुको बारेमा जानकारी गराउने, यस्ता अपाङ्गता भएका व्यक्तिहरु र अभिभावकहरुलाई विशेष शिक्षा, स्वास्थ्य उपचार, तालिम प्रदान गर्ने लगायतका कार्यक्रमहरु श्रवणदृष्टिविहीन अभिभावक समाजले सञ्चालन गर्दै आएको छ। अहिले काठमाडौं, रुपन्देही, मोरङ् र कास्की जिल्लामा रहेका श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गरिरहेको छ भने काठमाडौंबाट ३३ जना श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरुलाई दिवा सेवा उक्त सस्थाले प्रदान गरिएको पाईन्छ। श्रवणदृष्टिविहीन अपाङ्गता न्यून प्रतिनिधित्व भएका अपाङ्गता समुह मध्ये पर्दछ ।




