भरतपुर/तस्बिरमा देखिएको गाउँ चितवनको सबैभन्दा पुरानो गाउँमध्येमा पर्ने शोशी गाउँ हो । विशुद्ध आदिवासी जनजाति समुदाय थारु जातिको बसोवास रहेको यो गाउँ अहिले भरतपुर महानगरपालिकाको वडा नं–२५ मा पर्छ । यो गाउँमा मोटरबाटो पञ्चायतकालमै खुलेको हो । त्यतिबेला गाउँ पञ्चायत थियो । तर, समय बदलिएसँगै गाउँ पञ्चायत गाउँ विकास समितिमा रुपान्तरण भयो ।
त्यसयता नगरपालिका हुँदै महानगरपालिका भयो । तर, बाटोको अवस्था भने उस्तै छ । गाउँलेले सामान्य आधारभूत पूर्वाधारको सुविधासमेत पाउन सकेका छैनन् । ‘हामी त बत्तीमुनिको अँध्यारोमा छौँ’, स्थानीय आशाराम महतो भन्छन्, ‘रातापुर गाउँ विकास समितिबाट शुक्रनगर गाविस हुँदै अहिले भरतपुर महानगरपालिका भइसक्यो । तर, विकास भने शून्य छ ।’ सामान्य खालको ग्राभेलमात्रै गरेको यो गाउँको बाटो वर्षा लागेपछि हिँडिनसक्नु हुन्छ ।
वरिपरि घोल खेत छ । त्यही खेतमा आश्रित यहाँका थारु समुदाय देशका ठूला दलबाट समेत हेपिएका छन् । ‘भरतपुर महानगरपालिकाले जताततै पिच गरेका छौँ भनेको सञ्चारमाध्यममा सुन्यौँ । फेसबुकमा देख्यौँ, तर हामीले अहिलेसम्म पिच देख्न पाएका छैनौँ’, अर्का स्थानीय सोमला महतो भन्छन्, ‘अहिले हामीलाई पिच देख्न पनि बसकठ्ठा पुग्नुपर्छ ।’
यतिमात्र होइन यहाँका स्थानीयले श्रमदान गरेर निर्माण गरेको यात्रु प्रतीक्षालय भत्किएर जीर्ण अवस्थामा पुगिसक्यो । तर, हेरिदिने कोही नहुँदा निर्वाचन आउँदा घरदैलोमा कुनै नेता आए प्रतीक्षालय पनि देखाऔँला भनेर बसिरहेका छन्, शोशीवासी थारु समुदाय ।
भरतपुर–२५ कै बोटेटोलको पनि अवस्था उस्तै छ । चुनाव आउँदा नेता र तिनका घोडा–गाडीको लावालस्कर आउँछ । र, ‘समस्या के छ हामी समाधान गरिदिन्छौँ’ भनेर खुट्टा नै ढोगूँलाझैँ गर्छन् । तर, चुनाव सकिएपछि हार्ने त आउँदैनन् नै जितेका नेता पनि फर्किएर आउँदैनन् । ‘हामीलाई बाटोघाटोभन्दा पहिले गाँसबासको राम्रो व्यवस्था मिलाइदिए हुन्थ्यो’, स्थानीय कुशुमी बोटे भन्छिन्, ‘साहूको अधियाँ नजोतेसम्म हाम्रो पेटमा अन्न पर्दैन ।’
यहाँको बोटे समुदायको बसोवास पुरानै भए पनि गरिबीबाट माथि उकासिन नसक्दा कष्टकर जीवन बिताइरहेका छन् । तैपनि, गुजाराका लागि अधियाँ गरेर प्राण धानिरहेका कुशुमी बताउँछिन् । ‘अहिले त चुनाव आउन लागेर होला नेताको गाडी र मोटरसाइकल हुरूरूर्र कुदिरा’छ झन्डा हल्लाउँदै, धुलो उडाउँदै’, उनी भन्छिन्, ‘तर चुनाव सकिएको भोलिपल्टबाट अर्को चुनाव नआएसम्म कोही पनि यो गरिबको गाउँमा फर्किनेवाला छैन ।’
जति चुनाव आए पनि नेताको नारा एउटै हुने र विकास कहिल्यै नगर्ने उनको भनाइ छ । ‘तपाईं पत्रकारहरु त फर्केर आउनुहुन्न, नेताको के आश ?’ चितवन पोष्ट दैनिकसँग दुःख बिसाउँदै कुशुमी भन्छिन्, ‘तपाईंले आज आएर हाम्रो समस्या टिपेर लैजानुहुन्छ । तर, हाम्रो समस्या माथि पुग्या छ कि छैन हाम्लाई के था ?’ पत्रकारले पनि समस्यामात्रै टिपेर लैजाने, तर प्रकाशन/प्रसारण नगरिदिँदा बोटेटोलको समस्या समाधान हुन नसकेको उनको बुझाइ छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले आफू मेयर भएको पहिलो कार्यकाल (पाँच वर्ष)मा महानगरपालिकाको ६२२ किलोमिटर सडक कालोपत्रे गरेको दाबी गरेकी थिइन् । तर, महानगरपालिकाको पहाडी क्षेत्र कविलास छाडेर पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ लाग्ने हो भने केही मुख्य सडकबाहेक भित्री सडकमा उच्चस्तरको ग्राभेलसमेत गर्न सकेको छैन ।
त्यसैले पनि स्थानीय सरकारप्रति आमसर्वसाधारले निर्वाचन ताका आक्रोश पोख्ने गरेका छन् । अरुबेला नेताको मुख नै देख्न नपाउने हुँदा रिस र आक्रोश पोख्ने समय नै निर्वाचन भएको भरतपुर–१८, सिमरीटाउनकी सुमित्रा तामाङ बताउँछिन् । ‘आशा त कुनै नेताबाट पनि छैन, तैपनि नेता आउँदा हामीले आफ्नो समस्या बताउन छाडेका पनि छैनौँ’, उनी भन्छिन्, ‘स्थानीयस्तरको समस्यामा स्थानीय सरकारले भूमिका खेल्न नसक्दा विकासले गति लिन नसकेको हो ।’
स्थानीयस्तरमा कुन प्रकारको पूर्वाधारको आवश्यकता हो भनेर वडा तहबाट माथि जानै नसक्दा राज्यले पनि नहेरेको उनको ठम्याइ छ । ‘आफ्नो वडामा के समस्या छ भन्ने कुरा त वडा अध्यक्षलाई थाहा हुने कुरा हो नि’, उनी भन्छिन्, ‘वडाले पालिकामा भन्ने, पालिकाले प्रदेश र केन्द्रमा भने पो विकासले गति लिन्छ ।’ जनप्रतिनिधि भइसकेपछि के काम गर्दा कमिसन आउँछ भन्नेतर्फमात्रै चिन्तित हुँदा जनताले पाउनुपर्ने सरकारी सुविधाबाट पनि वञ्चित हुनु परेको उनको भनाइ छ ।
समाचारमा प्रस्तुत गरिएका गाउँबस्ती त केही नमुना उदाहरणमात्रै हुन् । यस्ता समस्या खोतल्दै जाने हो भने भित्री गाउँका हरेक बस्ती र टोलमा यस्ता समस्या भेटिन्छन् । तीनै तहको सरकार दलबाटै चलिरहेको हुँदा जनप्रतिनिधिसम्म समस्या बोकेर जान नसक्ने गाउँको विकास जहिले पनि उस्तै हुने गरेको छ । त्यसैले, स्थानीय तहदेखि नै दल र शक्ति नहेरी जनतालाई समान सुविधा दिन सरकारले तदारूकता देखाउन आवश्यक छ ।
-चितवन पोष्ट दैनिकबाट




