चितवन/चितवनको भरतपुर महानगर क्षेत्रमा पर्ने नारायणी नदी किनार क्षेत्रमा देवघाटदेखि गोलाघाटसम्म नै अत्याधिक मात्रामा फोहोर उच्च गरिएको भेटिएको छ । जसले नारायणी नदीको अस्तित्व नै संकटमा रहेको स्पष्ट पारेको हो । ‘नदीसँगै हामी अभियान’ मार्फत देवघाटधाम क्षेत्रदेखि गोलाघाटसम्मको आठ स्थानमा गरिएको अध्ययनले नदीमा फालिने जथाभावी फोहोरका कारण नदीको अस्तित्व नै संकटमा पर्दै गएको प्रतिवेदन सार्वजनिक गरेको हो । नारायणी नदी किनारमा गरिएको फोहोर नक्साङ्कन र लेखा परीक्षणले क्षेत्रीय फोहोर व्यवस्थापनमा गम्भीर चुनौतीहरु देखिएको बेटर चितवन र ‘नदीसँगै हामी अभियान’ का फोहोर लेखापरीक्षक इन्जिनियर सागर कार्कीले जानकारी दिनुभयो । जहाँ प्लास्टिक फोहोरको मात्रा सबैभन्दा उच्च भेटिएको छ । भरतपुर महानगरपालिका क्षेत्रमा पर्ने नारायणी नदीको देवघाटदेखि गोलाघाटसम्म फेला परेको फोहोर विश्लेषण गर्दा यस्तो अवस्था पत्ता लागेको हो ।
देवघाटको दुई क्षेत्र स्नानघाट र दाहसंस्कार स्थल, जोरकुसुम पार्क, नारायणगढ नदी किनारको विद्यालयपछाडि र प्रदर्शनी स्थल क्षेत्र, नगरवन नदी किनार, शिवघाटको भँगेरीथान र भरतपुरको अन्तिम पश्चिमी विन्दु गोलाबाट गरी आठ स्थानमा फोहोरको अवस्थाबारे विश्लेषण गरिएको बेटर चितवनका पूर्वअध्यक्ष तथा अध्ययन संयोजक सागर कार्कीले जानकारी दिए । यी क्षेत्रमा भेटिएका फोहोरमध्ये साढे ४२ प्रतिशत प्लास्टिकजन्य छन् । देवघाट क्षेत्रमा भने ७२ प्रतिशतभन्दा धेरै रहेको कार्कीले बताउनुभयो ।
नगरवनमा लगभग २३ प्रतिशत फोहोर भेटिएको छ । यहाँ केही समयअघिसम्म भरतपुर महानगरपालिकाको फोहोर पुर्ने गरिन्थ्यो । अहिले भने त्यहाँ फोहोर पुर्न बन्द भएको छ । महानगरले जलदेवी बरण्डाभार जंगलमा लगेर फोहोर पुर्न सुरु गरेको छ । बेटर चितवनले नवलपुर गैंडाकोटको सहमति नामक संस्थाले सञ्चालन गरेको ‘नदीसँग हामी’ परियोजनाअन्तर्गत फोहोरको अवस्थाको लेखाजोखा गरेको हो ।
बेटर चितवनका तर्फबाट परियोजनाको संयोजन गर्नुभएकी आकृति सुवेदीका अनुसार गएको कात्तिक २४ गतेदेखि ३० गतेसम्म यसबारेमा अध्ययन भएको थियो । यी आठ क्षेत्रमा १५ मिटर व्यासभित्र भेटिएका फोहोर विश्लेषण गरेको उहाले जानकारी दिनुभयो । नदी किनारमा दोस्रो नम्बरमा कपडाको फोहर १७ दशमलव १४ प्रतिशत भेटिएको छ । तेस्रो नम्बरमा सिसा १२ दशमलव ६२ प्रतिशत र कुहिने फोहर ७ दशमलब ८९ प्रतिशत भेटिएको छ । त्यसपछि अस्पतालबाट निस्कने फोहोर ४ दशमलब ६९ प्रतिशत र कागज ४ दशमलब शून्य दुई प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । धातु र काठ डेढ प्रतिशत र माटोको भाँडा साढे दुई प्रतिशतको हाराहारीमा छन् ।
प्लास्टिकका फोहोर सबै विन्दुमा भेटिएको कार्कीले बताउनुभयो । भँगेरीथानजस्ता ठाउँमा लागुपदार्थ दुर्व्यसनीले प्रयोग गर्ने सिरिन्ज र घुम्न डुल्न आउनेहरुले खाएर फाल्ने बिस्कुट, चिप्सका प्लास्टिक फेला परेको उहाले बताउनुभयो । ‘फोहोर व्यवस्थापनमा अलिकित ध्यान दिने हो भने पनि भँगेरीथान जस्तो ठाउँमा फोहोर नै हुँदैन । तर यसको ख्याल वडा कार्यालयले पनि नराखेको पाइयो,’ कार्कीले भन्नुभयो ।
पर्यावरण र धार्मिक दृष्टिले महत्वपुर्ण हुँदाहुँदै पनि फोहोरमैलाको अवस्था भयावह देखिएको अध्ययन संयोजक कार्कीले बताउनुभयो । फोहोरमैलाको राम्रो र दिगो व्यवस्थापन नभए नारायणीको अवस्था बिग्रन समय नलाग्ने नदीसँग हामी परियोजनाको बेटर चितवनका तर्फबाट संयोजक रहेकी आकृति सुवेदीले बताउनभयो । स्थानीय सरकार, नागरिक समाज, धार्मिक नेतृत्व, पर्यटक, व्यवसायी, विद्यार्थी र आम जनताहरु नदीको भविष्यलाई बचाउन लाग्नुपर्ने उहाले बताउनुभयो ।




