” हेर अशोक, जुन पुरुषको चेहरा नामको भूगोल भत्केको पिच रोडजस्तो हुन्छ नि,उसको इतिहास राम्रो नहुने सम्भावना हुन्छ!सोझै भन्दा कुरूप पुरुषलाई बढी राम्री आइमाई चाहिन्छ। रे,है रे!भूगोल खत्तम,इतिहास खत्तम! ” कमलले आफ्नो अनुभव बतायो। अशोक र कमल साथी,प्रोफेसर दुबै। कमलको पूरा नाम ” प्रोफेसर कन्चननारायण कमल”, सजिलोको लागि ” कमल सर ” भन्ने चेलाचेलीले। ” यार कमल,आफू हीरो छु भनेर फुर्ति लगाएको त होइन नि?हामी पनि पुरुष,भमर,फूलको खोजी त हुन्छ नै, आडम्बर त भएन? ” अशोक कस्सियो।
“यार अशोक, त्यसो होइन।मैले शोध गरेको,यस्तो अनुभूत भयो।मेरो अनुभव सुन्ने?सत्य घटना हो। ” ” सुन्ने! ”
” सर,आज मेरो घर आउनू है।खास काम छ। ” चेली कमलाले कमललाई मायालु निम्तो गरिन् ।चेलाचेलीको घरमा,नबोलाए पनि जाने कमल,बोलाएपछि त नजाने कुरै भएन।गयो।दिनको दुई बजे।गाउँको जमिन्दारकी छोरी कमला,ब्याचलरमा पढ्दै।राम्री।उमेरमा युवती,त्यसै पनि राम्री। ” कमला,खोइ त बा आमा,अरू सदस्यहरू? ” छक्क पर्यो कमल। ” सबै मामा घर बिहेमा,म एक्ली।” ” तिमी किन नगएकी त? ” ” हजुरको प्रेमले रोक्यो! ” ग्वाम्म अङ्कमाल गरेर,चुम्बनमाथि चुम्बन,भोकाएकी बघिनीले हरिणमाथि हमला गरेजस्तो। केही मेसो पाएन कमलले। ” के गरेकी कमला? के पारा हो यो? ” ” अरे भोलाराम,धेरै बाठो बन्ने होइन नि?कति सपनामा आएर सताएको त!प्रेम गरेको नि प्रेम!प्रेम गर्नु अपराध हो र गुरुदेव?” “आऊ,पहिलो प्रेमको परिभाषा बुझ।” सोफामा राखेर आफू अलि अलग बस्यो कमल। ” कमला,यो प्रेम होइन,वासना हो।भास हो।सत्यानास हो।पगली,आऊ यस्तो प्रेम गरौं जुन सम्झिएर जीवनभरि गर्व गर्न सकियोस् ।जिस्मानी मोहबत होइन पगली,रुहानी मोहबत गरौं ।तिम्रो म प्रतिको अनुरागलाई म सद्भाव मान्नेछु।जीवन कथा होइन,उपन्यास होइन,सिनेमा होइन।पगली,तिम्रो तन होइन,मनमा वास चाहन्छु म।यस्तो रहर भए बिहे गर।म आफ्नो गुरु पदको मर्यादालाई तिलान्जलि दिन सक्दिन।कायर,नामर्द,हुतिहारा,पानीमरुवा,जे नाम दिनु छ,दिनू। होशमा आऊ चेली।प्रेम त त्यागमा जिउने हो। ”
” हैट,कमल,त्यस्तो पनि हुन्छ।सत्य हो भने मानियो। अलि पत्याउन गाह्रो,तर पत्याइयो।त्यो पगली अहिले कता त?” ” अमेरिका! बीस बर्ष भयो।” ” यस्ता पगलीहरूले हो बिताउने।पुरुष खराब त हो,तर पुरुष मात्र खराब होइन,यदि यसलाई खराब नै मान्ने हो भने!”अशोकले आफ्नो राय राख्यो। ” यो मनको सन्सारको खेल हो,आफ्नो आफ्नो कुरा!मलाई उचित लागेन,अझ पनि लाग्दैन,हेर्दा रोमान्टिक त छु।” कमल र अशोक उस्तै उस्तै गुरुहरू हुन् ।




