भरतपुर/स्वास्थ्य कार्यलय चितवनले उमेर हदबन्दीका कारण अवकाश प्राप्त गरेका भरतपुर महानगर भित्रका ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वसेविकालाइ सम्मान तथा बिदाइ गरेको छ । ६० बर्ष पूरा गरेका वा बिगत १० बर्ष देखि स्वसेविकाको भूमिकामा रहेर समाजमा पुर्याएको योगदानको उच्च मूल्याकंन गर्दै उनिहरुलाइ नगद सहित सम्मान गरिएको हो । गतसाल ३७ जनालाई बिदाइ तथा सम्मान गरिएको थियोे । कार्यक्रममा बोल्दै भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले महिला स्वास्थ्य स्वसेविका समुदायको पहिलो डाक्टर भएको बताउनु भयो । समुदायमा आपतकालीन अवस्थामा भइपरि आउने स्वास्थ्य सम्बन्धि सेवाहरुलाइ महिला स्वास्थ्य स्वसेविकाहरुले नै सहजीकरण गर्ने गरेको पनि उप प्रमुख अधिकारीले स्पष्ट पार्नु भयो । उहाँले महिला स्वास्थ्य स्वसेविकाहरुले समाजमा पुर्याएको योगदानको उच्च मुल्यांकन समेत गर्नु भयो ।

आधारभूत स्वास्थ्य सेवालाई जनताको घरदैलोमै पुर्याउने उद्देश्य अनुरुप नेपालमा स्वास्थ्य स्वयंसेविका कार्यक्रमको सूत्रपात भएको हो। वडाका बासिन्दाका आधारभूत प्राथमिक स्वास्थ्य सेवाभित्र पर्ने खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास नियन्त्रण र पोषण लगायत बालस्वास्थ्य तथा समुदायमा आधारित स्वास्थ्य कार्यक्रमको प्रबर्धन गर्ने, स्वास्थ्य सेवाग्राहीलाई साधन वितरण, प्राथमिक उपचार तथा प्रेषण र स्वास्थ्य सन्देश फैलाउनुका साथै राष्ट्रिय स्वास्थ्य कार्यक्रममा सघाउने लगाएतका थुप्रै कामहरु महिला स्वास्थ्य सेविकाले गर्दै आइरहेका छन । भरतपुर महानगरमा हाल २०७ जना महिला स्वास्थ्य स्वसेविकाहरु कार्यरत छन । यो कार्यक्रम सुरुमा तराइका २७ जिल्लामा र क्रमैसँग सबै जिल्लामा महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भई सञ्चालन भइरहेको छ। हाल देशभर ५१ हजार ४१६ महिला स्वयमसेवीका छन् जसमा ४६ हजार ८८ जना गाउँ तथा दुर्गम क्षेत्रमा छन् भने ५ हजार ३२८ सहर तथा महानगरपालिका क्षेत्रमा रहेका छन। सरकारले महिला स्वयंसेविकालाई वार्षिक रुपमा यातायात खर्च तथा पोषक भत्ता मात्र दिँदै आएको छ। २०६४ देखि वर्षेनी असोज १५ गतेलाई महिला स्वास्थ्य स्वयंसेविका दिवसको रुपमा मनाउने गरिएको छ ।




