भरतपुर/भरतपुर महानगरभित्रका जेष्ठ नागरिकले निवृत्तिभरण पाएका छन् । भरतपुर महानगरपालिका र नेपाल पत्रकार महासंघको साझेदारीमा जेष्ठ पत्रकारलाई सम्मान स्वरुप मासिक भत्ता वितरण सुरु गरिएको हो । पत्रकार महासंघ चितवनले ६० वर्षमाथिका पत्रकारलाई मासिक ४ हजार रुपैयाँका दरले निवृत्तिभरण वितरण गरेको हो । महानगरले निवृत्तिभरण वितरणका लागि महासंघ चितवनलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । मेयर रेनु दाहालले महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीलाई निवृत्तिभरण कोषका लागि सो चेक हस्तान्तरण गर्नुभएको हो । २० वर्ष बढी काम गरेका र ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि भत्ताको व्यवस्था गरिएको हो ।
२०२८ सालमा मातृभूमि साप्ताहिकबाट पत्रकारित सुरु गर्नुभएका रेशम विरही, २०३७ को जनमतसंग्रहका बेला दैनिक अवलोकन बुलेटिनबाट पत्रकारिता सुरु गर्नुभएका मोहन पोखरेल, २०४३ मा नेपालवाणी साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका महेन्द्रराज श्रेष्ठ, २०४८ देखि मूल्यांकन मासिकमा स्तम्भकारका रुपमा पत्रकारिता सुरु गर्नुभएका डिल्लिराम पोखरेललाई निवृत्तिभरणको व्यवस्था गरिएको हो । उहाँहरुले पहिलो चरणमा ३ महिनाको मासिक भत्ता लिनुभएको छ ।

उपमेयर चित्रसेन अधिकारीले पत्रकारहरुलाई जनतालाई सूसूचित गर्ने काममा लाग्न थप प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम महानगरले ल्याउने बताउनुभयो । महासंघका केन्द्रीय सचिव सृजना अर्यालले नविनत्म तथा अनुकरणीय कामको सुरुवात भरतपुरबाट भएकोमा खुशी व्यक्त गर्नुभयो । महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले सरकारलेनै जेष्ठ नागरिक भत्ता पाउने उमेरको हद घटाएकाले अब कार्यविधि संसोधन गरी ५८ वर्षमाथिका सबै पत्रकारलाई निवृत्तिभरण दिने व्यवस्था मिलाउनुपर्ने बताउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदीले महानगरभित्रका पत्रकारको क्षमता विकासका लागि महानगरले आवश्यक कार्यक्रम तथा बजेट विनियोजन गर्न तयार रहेको बताउनुभयो । जेष्ठ पत्रकार रेशम विरहीले जेष्ठ पत्रकारहरुलाई प्रोत्साहन गरेकोमा खुशी व्यक्त गर्नुभयो ।




