चितवन/जिल्लामा रहेका एचआइभी सङ्क्रमितममा यौनरोगको समस्या देखिएको छ । नौ दशमलव २५ प्रतिशत एचआइभी सङ्क्रमितमा यौनरोगको समस्या देखिएको छ । भरतपुर अस्पतालमा रहेको एन्टिरेक्ट्रो भाइरल थेरापी सेन्टरका अनुसार विगत ६ महिनामा १०८ सङ्क्रमितको परीक्षणका क्रममा उनीहरुमा यौनरोगको समस्या देखिएको हो । सेन्टरका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार परीक्षण गरिएकामध्ये १० जनामा यो समस्या देखिएको छ । उनीहरुमा भिरिङ्गी, गोनोरीया, सेतोपानी बग्ने, छालामा खटिरा आउनेलगायत समस्या देखिएको उहाँले जानकारी दिनुभयो ।

पछिल्लो समय यौनरोगको समस्या असुरक्षित यौन सम्पर्क र यौनाङ्गको हेरचाहमा ध्यान नदिँदा भएको पाइएको सापकोटाले बताउनुभयो । एचआइभी सङ्क्रमितमा यसअघि यो समस्या नदेखिएको उहाँको भनाइ छ । भरतपुर अस्पतालका फिजिसियन डा प्रमोद पौडेलले एचआइभी सङ्क्रमित भएर पनि नियमित औषधि सेवन गर्नेमा यौनरोग देखिए पनि खासै समस्या नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “औषधि नखाएकामा देखा परेमा फैलन सक्ने समस्या हुन्छ ।” अहिले यौन रोगको समस्या औषधि सेवन गरिरहेकामा देखिएको उहाँले जानकारी दिनुभयो ।




