काठमाडौं /असार १ गते अर्थात भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम हुने भएको छ । भोलिबाट नै लागू हुनेगरी आइतबारे बिदा कटौती भएको हो । गृह मन्त्रालयले सूचना निकालेर गएको २३ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार भोलिदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो ।
Advertisement
कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गरेको छ । सरकारी कार्यालय भोलिदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ ।
यस्तै शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने विज्ञप्तिमा भनिएको छ ।कार्यालय समयमा कर्मचारीहरु अनिवार्य कार्यालय हुनुपर्ने, भए नभएको अनुगमन तोकिएको नियमन निकायले गर्नुपर्ने, नागरिकको सेवामा दत्तचित्त भइ काम गर्नुपर्नेगरी कर्मचारीहरुलाई गृहले निर्देशन दिएको छ ।





