चितवन/गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तहको निर्वाचन घोषणा भएकै मितिमा हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खाणले निर्वाचन शान्तिपूर्ण वातावरणमा तोकिएकै मितिमा निस्पक्ष तवरले हुने बताउनुभयो ।
प्रतिपक्षी दलका नेताले सरकार निर्वाचन नगर्ने मनसायमा रहेको छ भन्दै हुनुहुन्छ नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “संविधानसभाको निर्वाचन हुँदैन भन्थे भयो, कांग्रेसको महाधिवेशन हुँदैन भन्थे भयो यो हल्ला हो ।”
अहिलेको गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको भन्दै उहाँले भन्नुभयो, “अहिले राष्ट्रिय राजनीति गठबन्धनको जगमा उभिएको छ ।” यसलाई सबैले सहजतापूर्वक लिनुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “लोकतन्त्रको रक्षा र संविधानको रक्षाका लागि गठबन्धन आवश्यक छ ।”
काङ्ग्रेसको भावना प्रतिकूलभन्दा पनि यो गठबन्धन गर्दा खेरी आफूले चाहेको मात्रै नहुने बताउँदै उहाँले भन्नुभयो, “अर्को राजनीतिक शक्ति जो गठबन्धनमा आबद्ध छ, त्यो शक्तिसँग पनि संवाद छलफल हुन्छ । कहिलेकाहीँ एक कदम पछाडि पनि हट्नुपर्ने हुन्छ ।” मन्त्री खाणले शीर्ष नेताले निर्णय गर्नुभएकाले सो निर्णयलाई कार्यान्वयन गर्ने क्रममा सबैले त्यति नै योगदान पुर्याउनु पर्ने बताउनुभयो ।




