गोरखा (लाप्राक)/लुथरन वर्ड फ्रेडेसनको आर्थिक सहयोगमा सहयोगी हातहरुको समूह (सहास) नेपाल पहिरोवाट प्रभावित जनताको खाद्य सुरक्षा र जीविकोपार्जन सुधार परियोजना (IFSL) को आयोजना र चितवन उद्योग संघ औद्योगिक पाठशालाको सहकार्यमा सञ्चालित लाप्राक नमूना बस्ती सामुदायिक होमस्टेका २५ जना महिला दिदीबहिनीहरुलाई घरेलु प्रयोजनका लागि दुईदिने अचार निर्माण तालिम सम्पन्न भएको छ ।
दुईदिने तालिममा आफ्नै गाउँघरमा सजिलै उपलब्ध हुनसक्ने सामाग्रीहरुको प्रयोग गरी तालिम दिइएको थियो । तालिममा मिक्स अचार, मुलाको अचार, गोलभेंडाको अचार, करेलाको अचार, कुखुराको मासुको अचार, मेथीको अचार, माछाको अचार, गुन्दु्रकको अचार, टिम्बुरको अचार, कागतीको अचार गरी विभिन्न १० थरीका अचार बनाउन तालिम दिइएको थियो ।
तालिममा विगत १५ वर्षभन्दा बढी तालिमहरुमा आफ्नो अनुभव सम्हाली सक्नु भएकी सुस्मिता थापा मुख्य प्रशिक्षकमा हुनुुहुन्थ्यो भने अनु बुढाथोकी सहायक प्रशिक्षकको रुपमा हुनुहुन्थ्यो ।
तालिमको अवसरमा सहयोगी हातहरुको समूह (सहास) नेपालका परियोजना अधिकृत नविन धितालले परियोजनाको बारेमा, (सहास) नेपालकी कृषि प्राविधिक मुना घिमिरेले तालिमको बारेमा जानकारी दिनुभयो ।
त्यस्तै तालिममा सहकार्य गरेको आएको चितवन उद्योग संघको तर्फबाट संघका कार्यक्रम अधिकृत विकास भट्टले संघले सञ्चालन गरिरहेको औद्योगिक पाठशाला र लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित उपजको बिक्री केन्द्रको बारेमा जानकारी गराउनु भएको थियो ।
त्यसैगरी लाप्राक नमूना बस्ती सामुदायिक होमस्टेका संयोजक दलविर गुरुङ नमूना वस्ती तहाँ सञ्चालनमा रहेको आकर्षणको केन्द्रविन्दु होमस्टेका वस्तुस्थितिको बारेमा परिचयसँगै तालिमका प्रशिक्षार्थीहरुलाई शुभकामना समेत दिनुभएको थियो । तालिममा सहभागी पस्विना गुरुङले तालिमको सिकाई उपलब्धीको बारेमा संक्षिप्त जानकारी दिनुभयो ।





