लिस्वन/नेपालमा बढ्दै गएको बलत्कार, हत्या र एसिड काण्ड जस्ता अपराध न्यूनीकरण गर्न माग गर्दै नेपाली नारी समाज पोर्तुगलले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापनपत्र बुझाएको छ । महिला माथी हुने कुनैपनि अपराधलाई यतिकै छोडन नहुने भन्दै समाजले त्यस्ता खालका अपराध गर्ने अपराधीलाई कानुनको कठघरामा ल्याइ कडाभन्दा कडा कार्वाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

विभिन्न देशमा रहेका नारीहरुको उल्लेख्य सहभागिता रहेको ज्ञापनपत्रमा उनीहरुले ७ बुदे माग राखेका छन् । जसमा जेलमा रहेका अपराधीहरुले बिभिन्न राष्ट्रिय दिवसमा महामहिम राष्ट्रपति मार्फत कैद मिनाहा गर्दा १८ बर्ष भन्दा मुनिका बालबालिका बलात्कार गर्नेहरु, बाल अपराध गर्नेहरु, एसिड छेप्ने जस्ता जघन्य अपराध गर्ने अपराधीहरुलाई सुविधा प्रदान नगर्ने ब्यबस्था हुनुपर्ने, अपराध पिडित महिलाले आफु रहे बसेको अस्थायी वा स्थायी जुनसुकै बतनबाट पनि उजुरी गर्न पाउनुपर्ने, गाँस, बास, कपास तथा शिक्षा स्वास्थ्य खर्च दावी गरिएका मुद्दामा अदालती शुल्क नलाग्ने ब्यबस्था गरिनुपर्ने लगायतका मागहरु उल्लेख छ ।
ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा नेपाली नारी समाज, पोर्तुगलको तर्फबाट समाजकी अध्यक्ष सीता श्रेष्ठ (शिवानी) र चेली माइती समुह नेपालकी संयोजक इन्दिरा निरौला, बरिष्ठ अधिवक्ता राजेन्द्र शर्माले संयुक्त रूपमा प्रधानमन्त्री देउवालाई सो ज्ञापनपत्र बुझाएका हुन् ।




