भरतपुर/बागमती प्रदेशभित्रका घरेलु उद्यमीहरु मध्ये उत्कृष्ट छनौट भई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग विभागबाट सातौं उद्योग दिवस–२०७८ को अवसरमा सम्मानित हुनुभएकी बि.एम.हस्तकला प्रशिक्षण केन्द्रकी सञ्चालिका बुद्धिमाया घलेलाई एक कार्यक्रमका बीच सोमबार घरेलु तथा साना उद्योग कार्यालय चितवनले सम्मान गरेको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादवनाथ आचार्य र चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले संयुक्त रुपमा घलेलाई सम्मान गरेका थिए ।

त्यसैगरी सातौं उद्योग दिवसको अवसरमा वि.सं.२०२५ साल चैत्र ७ गते उद्योग विभागमा दर्ता भई विभिन्न मितिमा ठाउँसारी र नामसारी, नाम परिवर्तन हुँदै मिति २०४४/०९/२९ मा झापा जिल्लाबाट चितवनमा ठाउँसारी भई आएको र दर्ता मितिदेखि हालसम्म अद्यावधिक हुँदै सञ्चालनमा रहेकोले उद्योगको निरन्तरता र श्रीवृद्धिको शुभकामना सहित रौनक स–मिल तथा फर्निचर उद्योगका सञ्चालिकालाई समेत सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत नारायण प्रसाद लम्साल, नेपाल घरेलु तथा साना उद्योग महासंघ बागमती प्रदेशकी सदस्य एवम् चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी कार्यवहाक अध्यक्ष सृजना सोती, चितवन उद्योग संघ महिला उद्यमी मञ्चकी निवर्तमान अध्यक्ष सुधा सुवेदी पौडेल, महिला उद्यमी मञ्चका सदस्यहरु अम्बिका धिताल, राधा शर्मा, गीता ढकाल लगायतको उपस्थिति रहेको थियो ।





