रत्ननगर/चितवनको रत्ननगर नगर नगरपालिकामा सुकुमवासी समुदालयका लागि निर्माण गर्न लागिएको आवासको सोमवार शिलान्या गरिएको छ । रत्ननगर नगरपालिका र लुमन्ती आवासका लागि सहयोग समुहको सहकार्यमा निर्माण गरिएको शहरी गरिब सहयोग कोषको ऋण सहयोगमा रत्ननगर ८ बगर टोलमा रहेका सुकुमवासी समुदायलाई आवास निर्माण गर्न लागिएको छ । सोमवार ९ वटा घरको मेयर नारायण वनले शिलान्या गरेका छन ।
कोषबाट ६ प्रतिशत व्याजदरमा ऋण लिएर सुकुमवासीहरुले घर निर्माण गर्ने छ । घर बनाउदा लिएको ऋण तिर्नकै लागि नगरपालिकाले सुकुमवासी समुदायलाई उत्पादनशिल काम गर्न सहयोग गर्ने छ । ऋण लिएर घर बनाउने र कमाएर तिर्ने गरी आवास निर्माण सुरु गरिएको मेयर नारायण वनले बताए । सुकुमवासी समुदायको आम्दानीको लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने मेयर वनको भनाई छ ।
सजिलो तरिकाले आफ्नै लगानीमा घर बनाउने उत्तम विकल्प दिइएको भन्दै मेयर वनले यस भन्दा अघि रत्ननगर ८ कै मुसहरहरुले कोषबाट ऋण लिएर २० वटा घर बनाइसकेको बताए । शिलान्यास कार्यक्रममा नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक हरिकुमार श्रेष्ठ, प्रबक्ता राजेन्द्र हमाल,वडा सदस्य नेत्र गिरी,विपन्न समुदाय व्यवस्थापन मञ्चका अध्यक्ष मायानाथ भट्ट,आकृति साकोसकी अध्यक्ष फुलकुमारी लामा,लुमन्तीका कार्यक्षेत्र संयोजक सिंह लामा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम नेपाल बसोवास बस्ती संरक्षण समाजका अध्यक्ष दील बहादुर तामाङको अध्यक्षतामा भएको थियो ।




