गैडाकोट/लायन्स क्लब अफ चितवन चौतारीको अगुवाईमा आज गैडाकोट ३ मा अवस्थित बृन्दापुर गाँउलाई लायन्स नमुना गाँउ घोषणा कार्यक्रम सम्पन्न भएको छ । सो गाँउलाई नमुना बनाउन लायन्स क्लब अफ चितवन चौतारी, लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि, लायन्स क्लब अफ गैडाकोट उत्कृष्ट र लायन्स क्लब अफ चितवन स्पन्दनले कार्य गर्नेछन् । लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का बर्ष २०२१/ २२ का गर्भनर लायन रामप्रसाद भट्टको परिकल्पना अनुसार कुनै एक गाँउको छनोट गरी क्लबहरुले गर्ने बर्षभरीका सबै कार्यहरु सोहि गाँउमा सम्पन्न गर्ने गरी लायन्स नमुना गाँउको परिकल्पना गरिएको हो । सो कार्य स्थानिय पालिका तथा वडा कार्यलय सँगको समन्वयमा सम्पन्न हुनेछ । नमुना गाँउ घोषणासँगै घोषित गाँउमा बिभिन्न किसिमका जनचेतना कार्यक्रमहरु सञ्चालन हुनेछ । समय समयमा स्वास्थ्य शिबिर, स्थानियलाई बिभिन्न किसिमका आयमुलक तालिमहरु समेत प्रदान गरिनेछ ।

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि २ का डिष्ट्रिक सचिब लायन प्रभाकर पण्डितले गैडाकोट नगरपालिका वडा नं ३ बृन्दापुरमा रहेको श्री पञ्चकन्या प्रा.बि.को प्राङगणमा रुद्राक्षका बिरुवा रोप्दै लायन्स नमुना गाँउ घोषणा गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका डिष्ट्रिकका सचिब पण्डितले लायन्सको यो अभियान धेरै नागरिकहरुले उच्चकोटीको सेवा पाउने बताउनुभयो । बिगत देखिनै प्रभाबकारी कार्यगर्दे आईरहेको चितवन चौतारी लायन्सको अगुवाईमा बृन्दापुर साच्चै नमुना गाँउ बन्नेमा आफुलाई पुरा बिश्वास भएको बताउनु भयो ।

कार्यक्रममा गैडाकोट नगरपालिका वडा नं ३ का वडा अध्यक्ष शिबकान्त तिवारीले बृन्दापुर गाँउ गैडाकोट नगरपालिकाको कार्यलयबाट नजिक भएर पनि बिकासको दृष्टिले पछाडी रहेको बताउनु भयो । वहाँले आफ्नो वडाले नगरपालिको ४३ प्रतिसत क्षेत्रफल ओगटेको र बस्तीहरु पातला पातला भएका कारण सबै नागरिकहरुलाई आधारभुत सेवा दिन समेत कठिन रहेको बताउनु भयो । सिमित स्रोत र साधनबाट काम गर्दै आईरहेको बताउदै वहाँले आफ्नो वडा अन्र्तगतको बस्तीपुर गाँउलाई लायन्स क्लबहरुले नमुना गाँउ घोषणा गरी सो को कार्यन्वयमा देखाएको तत्परताले ज्यादै उत्साहि भएको बताउनुभयो । यस्ता किसिमका सहकार्यको निरन्तरताका लागी अहाँले उपस्थित लायनहरुसँग आग्रह गर्नुभएको थियो ।

बिद्यालयको स्थापना बि.स. २०४५ सालमा भएको हो । स्थानिय गोपाल दर्लामीका अनुसार शुरुमा कक्षा ३ सम्मको पढाई हुने बिद्यालयमा शिक्षक टेक बहादुर आलेले ३ बर्ष स्वयसेबी शिक्षकका रुपमा अध्यापन गराउनुभएको थियो । हाल यो बिद्यालयमा कक्षा ५ सम्म पढाई हुन्छ । समय समयमा बिभिन्न दाताको सहयोगमा केहि भौतिक पुर्वाधार बनेपनि अझै धेरै बाँकी रहेको बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद पौडेलले बताउनुभयो । यो शैक्षिक सत्रमा ४३ बिद्यार्थी भर्ना भईसकेको बिद्यालयकी प्रअ राधिका भण्डारीले बताउनुभयो । बिद्यालयमा ३ स्थायी दरबन्दी , १ जना बाल शिक्षा अन्र्तगतका शिक्षक र १ कर्मचारी कार्यरत छन् ।

सो घोषणा कार्यक्रममा डिष्ट्रिकका को चिफ एडभाईजरहरु राजेन्द्र गौतम, कृष्ण पाण्डे, डिष्ट्रिक चिफ गोपाल गौतम, डेपुटी चिफ भक्तीप्रसाद चालिसे, डिष्ट्रिकका डेपुटी सचिब पूर्णप्रसाद शर्मा, गैडाकोट नगरपालिका वडा नं ५ का वडा अध्यक्ष समेत रहनु भएका लायन्सका एओजी नवराज कंडेल, रिजोन चियर पर्सन बिनोद पन्त, जोन चियरपर्सन किशोर पौडेल लगायतका लायन्सकर्मीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रम लायन्स क्लब अफ चितवन चौतारीका अध्यक्ष डा. गंगा सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।




