भरतपुर /चितवनको भरतपुर महानगरपालिका २६ स्थित सिसैमा बाढी पसेको छ । लगातारको वर्षाका कारण नारायणी नदीमा आएको बाढी गाउँमा पसेको हो । वडाध्यक्ष ज्ञानप्रसाद खनालले बाढी गाउँमा पसेको जानकारी दिए । बाढीले अहिले ठुलो क्षती नपुराए पनि कटानको जोखिम रहेको उनले बताए । सिसैमा करीब ९० घर धुरी रहेका छन् ।
अहिले बाढी गाउँको डिलसम्म पुगेको उनले बताए । स्थानीय एक परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । वर्षा भइरहे बाढीले थप घर धुरी प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाइएको उनले बताए । यस्तै सोही क्षेत्रको हिरापुर भन्ने स्थानमा पनि बाढीले कटान गरेको छ । यसैबीच भरतपुर महानगर प्रमुख रेणु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, चितवन प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहितको टोलीले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् । टोलीले सिसै, हिरापुर लगायतको क्षेत्रको निरीक्षण गरेका हुन् ।




