यसैगरी खेलकूदको विकासका लागि गण्डकी प्रदेश खेलकूद परिषद् र जिल्ला खेलकूद विकास समितिहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने सरकारको योजना छ । प्रदेश सरकारले प्रदेश खेलकूद परिषद् र ११ वटै जिल्लामा जिल्ला खेलकूद समितिका अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गरेको छ । गण्डकी प्रदेशमा यसअघि तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता गत वर्ष कोरोनाका कारण आयोजना हुन नसकेकामा आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने योजना सरकारको छ ।
राष्ट्रिय खेलकूदका लागि सङ्घीय सरकारले बजेट विनियोजन गरेको छ । पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरिएको र आगामी आर्थिक वर्र्षभित्रमा फुटबल रङ्गशाला सम्पन्न गर्ने योजना सङ्घ सरकारको बजेट कार्यक्रममा परेको थियो । प्रदेश सरकारले युवाको सीप र नेतृत्व क्षमतालाई प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न युवाहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याइने मन्त्री गुुरुङले जानकारी दिनुभयो ।




