चितवन/चितवन हाई स्कूल भरतपुरबाट (२०४४–४६ ब्चाच) एसएलसी दिने पूर्व विद्यार्थीहरुको मित्रमिलन तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । उदयपुर सामुदायिक वन परिसर, पदमपुरमा शनिबार आयोजित कार्यक्रममा चितवन हाई स्कूल भरतपुरबाट (२०४४–४६ ब्चाच) एसएलसी दिएर हाल चितवन, काठमाण्डौं, पोखरा, वुटवल लगायतका क्षेत्रमा छरिएर रहेका र विभिन्न पेशा, व्यवसायहरु आवद्धता भएका करीब एकसय जना भन्दा बढीको सहभागिता रहेको थियो ।

पूर्व विद्यार्थी संगीता श्रेष्ठ राजभण्डारीको सभापतित्वमा सम्पन्न मित्रमिलन तथा वनभोज कार्यक्रमलाई सम्पन्न गर्न विभिन्न उपसमितिहरु समेत बनाइएको थियो । जसमध्ये पूर्व विद्यार्थी शर्मिला सेढाईंको संयोजकत्वमा खाना व्यवस्थापन उपसमिति, पूर्व विद्यार्थी राकेशमान श्रेष्ठको संयोजकत्वमा मनोरञ्जन उपसमिति र पूर्व विद्यार्थी रविन श्रेष्ठको संयोजकत्वमा यायायात उपसमिति बनाई कार्यक्रम सञ्चालन गरिएको थियो ।

एसएलसी पछिको लामो समयपछि विभिन्न स्थानहरुबाट आई कार्यक्रममा भेट हुँदा पुरानो यादहरुले सबैमा उत्साह, उमङ्ग छाएको देखिन्थ्यो । आफ्नो बालापनको विभिन्न चरणहरुलाई सम्झना गर्दै कार्यक्रममा सहभागीहरुले एकअर्काबीच पुन परिचय, आफू सानो हुँदा भएगरेका यादगार पहहरुको सम्झना गर्दै एकअर्काबीच हाँसो मजाक समेत गरेका थिए । कार्यक्रम भएका नाचगानले माहोललाई निकै रोमान्चक बनाएको थियो ।

कार्यक्रम अन्तर्गत विभिन्न चरणका खेलहरु समेत खेलाइएको थियो । जसमा बाल्यकाललाई झल्काउने गरी पहिलो प्रेम प्रस्ताव राख्ने कार्यक्रममा चार जोडीहरुको सहभागिता रहेको थियो । चार जोडीहरुबाट गरिएको अभिनयसँगै प्रेम प्रस्तावमा विनोद न्यौपाने र कमला न्यौपानेको जोडी प्रथम भएको थियो । त्यस्तै म्युजिकल चियर अन्तर्गत महिलातर्फ शारदा दुवाडी र पुरुषतर्फ रामकृष्ण सापकोटाले जित हात पारेका थिए । त्यसैगरी घैटो फुटाई खेलमा तेजकुमारी महत क्षेत्री र शर्मिला श्रेष्ठले जित हासिल गरेका थिए । खेलमा बिजेता खेलाडीहरुलाई कार्यक्रमका सभापति एवं विभिन्न उपसमितिका संयोजकहरुमा पुरस्कारहरु समेत प्रदान गर्नुभएको थियो ।

मित्रमिलन तथा वनभोज कार्यक्रममा सहभागीहरुबाट आएका सल्लाह, सुझाव अनुरुप अब आगामि हुने कार्यक्रम काठमाण्डौमा राख्ने र काठमाण्डौं हुने कार्यक्रमका लागि पुरुषतर्फ उत्तम रायमाझी र महिलातर्फ महालक्ष्मी गौतमलाई संयोजक तोकिएको थियो । उहाँहरुले अबको कार्यक्रमको संयोजन गर्नुहुने निर्णय समेत गरिएको थियो ।
मित्रमिलन तथा वनभोज कार्यक्रमलाई पूर्व विद्यार्थी गणेशप्रसाद कँडेलले सञ्चालन गर्नुभएको थियो ।





