भरतपुर/‘कृषिमा रुपान्तरण, कृषिमा यान्त्रीकरण’ भन्ने मूल नाराका साथ चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७६ को एक कार्यक्रमबीच समापन गरिएको छ । चितवन उद्योग संघको चितवन प्रदर्शनी केन्द्रमा मंसिर ६ गतेदेखि शुरु भएको प्रदर्शनीलाई कार्यक्रमका प्रमुख अतिथि भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दाबा दोर्जे लामाले एक भव्य समारोहका बीच समापन गर्नुभएको थियो ।
हरेक २–२ वर्षको फरकमा गरिने उक्त प्रर्दशनी यसअघि २०७० सालमा चितवनबाटनै शुरु भएको थियो । त्यसपछि २०७२ सालमा बाँके, कोहोलपुर, २०७४ सालमा काठमाण्डौ हुँदै पुनः चौथो प्रदर्शनीको रुपमा चितवनमा सम्पन्न गरिएको नेपाल कृषि मेशिनरी ब्यवसायी संघका महासचिव कृष्ण शर्माले बताउनुभयो ।
प्रदर्शनीमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, यन्त्र उपकरणहरु तथा सेवाका वारेमा कृषिसँग सरोकार राख्ने उपभोक्ताहरुलाई कृषि व्यवसायका लागि आवश्यक जानकारी समेत गराईएको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले बताउनुभयो ।
लक्षित बर्ग कृषक, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवं गैह्र सरकारी सस्थांहरु, कृषक समुह, कृषि सहकारी संस्था, शिक्षक तथा विद्यार्थीहरुलाई नेपालमा भित्रिएका कृषि यन्त्र र उपकरणहरुको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले निःशुल्क रुपमा प्रदर्शनीको आयोजना गरिएको नेपाल कृषि मेशिनरी व्यवसायी संघका उपाध्यक्ष खोजराज कटुवालले जानकारी दिनुभयो ।
प्रदर्शनीको आयोजकको रुपमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, भूमी व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ र नेपाल कृषि मेशिनरी व्यवसायी संघ रहेका थिए । भने चितवन उद्योग संघ सहयोगी संस्थाको रुपमा रहेको थियो ।




