भरतपुर/धान्य पूर्णिमाको अवसरमा काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले धुमधामका साथ यमरी पुन्ही पर्व मनाएका छन् । नेवा ःसमाज भरतपुर चितवनको आयोेजनामा “नेवाः परिकार र भेषभूषाको प्रचार प्रसार, पहिचान र संरक्षण गरौं, नेवाः संस्कृति, रिति रिवाज र भाषाको प्रचार प्रसार र संरक्षण गरौं” भन्ने मूल नाराको यमरि पुन्ही–२०७७ मनाएको छ ।
चामलको पिठोको रोटीभित्र विशेषगरी चाकु राखेर बनाएको विशेष प्रकारको रोटीलाई यमरी भनिन्छ । सोही रोटी बनाएर खाने पर्व भएकाले यस दिनलाई नेवार समूदायले यमरी पुन्हीको रुपमा मनाउने गरेको हो । नेवार समुदायमा यमरीको विशेष महत्व रहेको छ । विशेषगरी जन्मदिन लगायतका विशेष शुभकार्यमा यमरी नभई नहुने पकवान्न मध्ये एक हो । यमरी मठ मन्दिर, मानिसको जोडा जन्मदिन जस्तो दुई वर्ष, चार वर्षको जन्मदिनको अवसरमा नभई नहुने पकवान भएको इतिहास तथा संस्कृतिविज्ञ पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

पूर्णिमाका दिन यमरीलाई धानलगायत अन्नका भकारीमा चढाइन्छ । यसदिन नेवार समुदायले यमरीको कुवेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः, महादेव, पार्वतीलगायतको मुर्ती बनाएर आफ्ना अन्नका भकारी र धुकु कोठा (ढुकुटी), भण्डार कोठामा चढाएर मात्र आफुले खाने चलन रहेको इतिहास तथा संस्कृतिविज्ञ श्रेष्ठले बताए । यसरी चढाएको यमरी चारदिन पछि मात्र प्रसादको रुपमा बाँडेर खाने प्रचलन छ । यमरीलाई भगवती अन्नपूर्ण देवीको प्रतिकको रुपमा पनि लिइन्छ। अन्नका भकारीमा यमरी चढाउँदा अन्न बृद्धि हुने र त्यसको प्रभावले घर अन्नले भरिपूर्ण हुने तथा धनलाभ हुने जनविश्वास रही आएको छ ।





