खैरहनी, ०८ पौष/चितवन उद्योग संघले हाल कोरोना प्रभावका कारण विचलित उद्यमीहरुलाई सीप तथा क्षमता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरी दिगो रुपमा उद्यमशिलतामा टिकाउन र नव उद्यमी सिर्जना गरी बेरोजगारी समस्या समाधानमा स्थानीय सरकारसँग सहकार्य गर्ने उद्देश्य अनुरुप औद्योगिक प्रबद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरु सञ्चालनको लागि खैरहनी नगरपालिकालाई प्रस्ताव पेश गरेको छ ।

चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीलाई उक्त प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्ताव पेश कार्यक्रममा आफ्नो धारणा राख्दै खैरहनी नगरपालिकाका प्रमुख लालमणी चौधरीले चितवन उद्योग संघको रोजगारी सिर्जना गर्ने तथा औद्योगिक प्रवद्र्धन गर्ने अभियानमा खैरहनी नगरपालिकाको तर्फबाट पूर्ण सहयोग रहने र संघले अघि सारेका कार्यक्रममा हातेमालो गर्दै अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा संघका अध्यक्ष राजु पौडेलले चितवन उद्योग संघले उद्यमीहरुलाई सीप तथा क्षमता अभिवृद्धिसँग सम्बन्धित कार्यक्रम सञ्चालन गरी दिगो रुपमा उद्यमशिलतामा टिकाउन र नव उद्यमी सिर्जना गरी बेरोजगारी समस्या समाधानका लागि स्थानीय सरकारको सहयोगमा अगाडि बढाईने बताउनुभयो ।
प्रस्ताव पेश कार्यक्रममा संघका पूर्व अध्यक्ष एवं गभर्निङ काउन्सिलका उपाध्यक्ष भीमबहादुर पाण्डे, बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल, उपाध्यक्षहरु दुर्गा प्रसाद भण्डारी, गजेन्द्र अधिकारी, कार्यकारी निर्देशक गणेशप्रसाद सिलवाल, कार्यसमिति सदस्य एवं खैरहनी इकाई समितिका अध्यक्ष प्रतिभा श्रेष्ठ, गोपाल प्रसाद गैरे, खैरहनी इकाई समितिका सदस्य डोलबहादुर कार्की, संघका सञ्चार अधिकृत राजु भट्ट, खैरहनीका उद्योगीलगायतको सहभागिता रहेको थियो ।

Advertisement




