चितवन/नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको तत्वावधानमा चितवन शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा दोस्रो मिष्टर चितवन शारीरिक सुगठन प्रतियोगिता तथा प्रथम पुरुष स्पोट्र्स फिजिक्स र दोस्रो महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ ।
आयोजकले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गरी प्रतियोगिता यही असोज १६ र १७ गते भरतपुरस्थित सिएमटी होटल, हाकिमचोकमा बिहान १० बजेदेखि सञ्चालन हुने जानकारी दिएको हो । प्रतियोगिताको प्रमुख अतिथिका रूपमा भरतपुर महानगरपालिकाका नगरप्रमुख चित्रसेन अधिकारी रहने जनाइएको छ ।
प्रतियोगिताअन्तर्गत मिष्टर चितवन शारीरिक सुगठनतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजीभन्दा माथिका तौल समूहमा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसैगरी पुरुष स्पोट्र्स फिजिक्स र महिला एथलेटिक्स फिजिक्स विधामा समेत प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ ।
विभिन्न तौल समूहका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः स्वर्ण पदकसहित २५ हजार, रजत पदकसहित १५ हजार र कांस्य पदकसहित १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । मिष्टर चितवनको उपाधि विजेतालाई भने नगद एक लाख ५० हजार रुपैयाँसहित ट्रफी तथा मेडल प्रदान गरिनेछ ।
महिला एथलेटिक्स फिजिक्सतर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कारसहित पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ । चौथो र पाँचौं स्थान हासिल गर्ने खेलाडीलाई पनि मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी खेलाडीको तौल तथा उचाइ मापन असोज १६ गते बिहान ९ः३० बजे कार्यक्रमस्थलमै गरिनेछ । तौल तथा उचाइ मापनका क्रममा टिम म्यानेजरहरूको समेत निगरानी रहने व्यवस्था गरिएको छ । प्रत्येक समूहबाट उत्कृष्ट पाँच खेलाडी फाइनल राउण्डका लागि छनोट हुनेछन् ।
प्रतियोगितामा सहभागी हुन खेलाडीले दुई हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ । दर्ता भइसकेका खेलाडीले प्रतियोगिताको बीचमा खेल छाड्न नपाउने र निर्धारित नियम उल्लंघन गरेमा प्रतियोगिताबाट स्वतः निष्कासन गरिने आयोजकले स्पष्ट पारेको छ । खेलाडीले तौल घटाउने वा बढाउने कार्य निर्धारित समयसीमाभित्र मात्र गर्नुपर्ने तथा तौल मापनसम्बन्धी विषयमा निर्णायक समितिको निर्णय नै अन्तिम हुने जनाइएको छ ।
प्रतियोगिताको सम्पूर्ण निर्णय गर्ने अधिकार चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघमा रहने आयोजकले जनाएको छ । संघले प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, टिम म्यानेजरलगायत सबैलाई निर्धारित नियमको पालना गरी प्रतियोगितालाई सभ्य, व्यवस्थित र सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ ।
प्रतियोगिता सञ्चालनका लागि करिब २१ लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका प्रायोजकमा मनकामना दर्शन प्रालि, एक्सट्रिम इनर्जी ड्रिंक्स, बीवाईडी, रत्ननगर नगरपालिका, कालिका नगरपालिका, देवघाट गाउँपालिका र भरतपुर महानगरपालिका वडा नं. ९ को कार्यालय रहेका छन् ।
त्यस्तै, सुमिट हेल्थ केयर अस्पताल प्रालि हस्पिटल पार्टनर, चितवन पाते ढिँडो भरतपुर–१० रेष्टुरेन्ट पार्टनर, चितवन मिडटाउन होटल हस्पिटालिटी पार्टनर तथा गुरुङ खाजा घर टिकट स्पोन्सरका रूपमा रहेका छन् ।
पत्रकार सम्मेलनमा चितवन शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष प्रकाश गुरुङले स्वागत मन्तव्यसहित प्रेस विज्ञप्ति वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव वीरबहादुर राना मगरले गरेका थिए भने संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक इन्द्रबहादुर श्रेष्ठले धन्यवाद मन्तव्यसहित पत्रकार सम्मेलनको समापन गरेका थिए ।
Advertisement




