पट्टाया, थाइल्याण्ड — थाइल्याण्डको पट्टायामा गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी थाइल्याण्डअन्तर्गत एनआरएनए पट्टाया शाखाको आयोजनामा हरितालिका तीज विशेष कार्यक्रम–२०२६ भव्य एवं सभ्य रूपमा सम्पन्न भएको छ।
प्रवासमा नेपाली संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा धार्मिक पूजा–आराधना, सांस्कृतिक प्रस्तुति तथा २० जना अग्रज आमाहरूको सम्मानलाई विशेष प्राथमिकता दिइएको थियो।
कार्यक्रममा भगवान् शिव, पार्वती तथा गणेशको पूजा–आराधना गरिएको थियो। साथै नेपालमा हालै आएको बाढी–पहिरो तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो। विपत्तिमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरू सुरक्षित रूपमा फेला परून् भन्ने कामनासमेत गरिएको थियो।
तीज गीत तथा सांस्कृतिक प्रस्तुतिले बढायो रौनक
कार्यक्रममा नेपाली संस्कृति, परम्परा तथा हरितालिका तीजको धार्मिक एवं सामाजिक महत्वलाई उजागर गर्दै विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए। सहभागीहरूले तीज गीत तथा नृत्यमार्फत नेपाली मौलिक संस्कृति र परम्पराप्रतिको आत्मीयता प्रस्तुत गरेका थिए।
विदेशमा रहेर पनि नेपाली चाडपर्व, भाषा, संस्कार र सांस्कृतिक पहिचानलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
अग्रज आमाहरूलाई सम्मान
कार्यक्रममा २० जना अग्रज आमाहरूलाई सम्मान गरिएको थियो। प्रवासमा नेपाली समाजको विकास, संस्कार र सामाजिक एकतामा अग्रज पुस्ताले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ। सम्मान कार्यक्रमले पुस्तान्तरण, आपसी सद्भाव र नेपाली मौलिक परम्पराप्रतिको सम्मानलाई थप बलियो बनाएको थियो।
एनआरएनए अभियन्ता प्रेमकुमार अधिकारीले प्रवासमा नेपाली संस्कृति, परम्परा र मौलिक पहिचानको संरक्षण गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
उहाँले नेपाली समुदायबीच एकता, आपसी सद्भाव र अग्रज पुस्ताप्रतिको सम्मानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। विदेशमा रहे पनि नेपाली चाडपर्व, संस्कार र परम्परालाई संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्न सबै नेपाली समुदायको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
कार्यक्रमले पट्टायामा रहेका नेपालीहरूबीच सांस्कृतिक एकता, आपसी भाइचारा तथा सामाजिक सद्भाव अभिवृद्धि गर्न सहयोग पुर्याएको आयोजकले जनाएको छ।




