चितवन/रत्ननगर नगरपालिका र स्थानीय शहीद स्मृति बहुमुखी क्याम्पसको संयुक्त सहकार्यमा सञ्चालित १५ दिने ‘सिक्दै कमाउँदै’ इन्टर्नसिप कार्यक्रम आज एक औपचारिक समारोहबीच सफलतापूर्वक सम्पन्न भएको छ। रत्ननगर नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सहभागी BICTE (सूचना प्रविधि) का विद्यार्थीहरूलाई सम्मान स्वरुप प्रमाणपत्र वितरण गरी समापन भएको हो।
सैद्धान्तिक ज्ञानलाई व्यवहारमा जोड्ने प्रयास स्वरुप महालेखा नियन्त्रक कार्यालयद्वारा सञ्चालित ‘राजस्व पोर्टल सुत्र प्रणाली’लाई वडा तहसम्म प्रभावकारी रूपमा लागू गर्ने उद्देश्यले रत्ननगर नगरपालिका र वडा नं. ३ मा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसबीच द्विपक्षीय सम्झौता अनुसार क्याम्पसमा BICTE अध्ययनरत १६ जना विद्यार्थीहरूलाई २ दिने अभिमुखीकरण पश्चात् नगरका १६ वटै वडाहरूमा खटाइएको थियो।
विद्यार्थीहरूले १५ कार्यदिनसम्म वडाहरूमा रहेका सम्पत्ति कर, भूमि कर तथा व्यवसाय करसम्बन्धी करदाताका अद्यावधिक विवरणहरू सुत्र (SUTRA) प्रणालीमा डिजिटल प्रविष्टि (Data Entry) गर्ने कार्य सम्पन्न गरेका हुन्।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रलाद सापकोटाले शिक्षालाई व्यवहारिक र कर्मसँग जोड्नुपर्नेमा जोड दिनुभयो। “हाम्रो शिक्षा प्रणाली पढाइमा केन्द्रित भए पनि प्रयोगात्मक अभ्यासको कमीले रोजगारीमा चुनौती थपिएको बताउदै नगर प्रमुख सापकोटाले भन्नुभयो, “विद्यार्थीहरूले वडाहरूमा पुगेर नागरिक सेवाको प्रत्यक्ष अनुभव लिने र प्रविधि हस्तान्तरणमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताउनु भएको छ।
यस्तै क्याम्पस प्रमुख दिलिप शर्माले सैद्धान्तिक ज्ञानलाई कार्यक्षेत्रको वास्तविक धरातलसँग जोड्न यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। साथै, विद्यार्थी युनिसा अधिकारीले इन्टर्नसिपले आफूहरूमा आत्मविश्वास, कार्यकुशलता र व्यावहारिक अनुभव अभिवृद्धि गरेको भन्दै आयोजकप्रति आभार व्यक्त गर्नुभयो।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले स्वागत मन्तव्य राख्नु भएको समापन समारोहमा नगर उप-प्रमुख यादब प्रसाद पाठक, वडा नं. १० का वडा अध्यक्ष एवं आर्थिक विकास समिति संयोजक कलाधर पौडेल, जनप्रतिनिधिहरू, क्याम्पसका प्राध्यापक, मिडिया कर्मी तथा सहभागी विद्यार्थीहरूको उपस्थिति रहेको उक्त कार्यक्रम नगरपालिकाका राजस्व शाखा प्रमुख दिनेश चौधरीले संचालन गर्नुभएको थियो।
Advertisement




