काठमाडौँ/सानी सेक्युरिटिज कम्पनी लिमिटेडले रसुवा जिल्लाको भोटेकोशी नदीमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।
प्राकृतिक विपद्का कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको तथा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भइरहेको अवस्थामा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गरेको कम्पनीका अध्यक्ष सन्ताेष पाैडेलले जानकारी दिए ।
सानी सेक्युरिटिजले बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै, बाढीपछि हालसम्म सम्पर्कविहीन रहेका व्यक्तिहरूको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
कम्पनीले विपद्को समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत प्रभावित नागरिकलाई सहयोग गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै खोजी, उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा ऐक्यबद्धता जनाएको छ । सानी सेक्युरिटिज नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त तथा नेपाल स्टक एक्सचेन्जको पूर्ण सदस्य रहेको धितोपत्र दलाल कम्पनी हो । कम्पनी ब्रोकर नम्बर ४२ का रूपमा नेपाली पुँजी बजारमा सेयर कारोबारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।




