भरतपुर/नेपालको लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले भरतपुरमा नयाँ विद्युतीय स्कुटर ‘टिभिएस अर्बिटर’ सार्वजनिक गरेको छ। सहरी यात्रालाई सहज, स्मार्ट र दिगो बनाउने उद्देश्यले ल्याइएको अर्बिटरमा १५८ किलोमिटर (आईडीसी) रेन्ज र ३.१ किलोवाट–घण्टा ब्याट्री जडान गरिएको कम्पनीले जनाएको छ। स्कुटरमा क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट, रिजेनेरेटिभ ब्रेकिङ, पार्किङ असिस्ट लगायतका सुविधा छन्।
शुक्रबार भरतपुरमा आयोजित कार्यक्रममा स्कुटर सार्वजनिक गर्दै कम्पनीले अर्बिटरले नेपालको विद्युतीय दुईपाङ्ग्रे बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ। कम्पनीका अनुसार अर्बिटरमा उद्योगमै पहिलोपटक १४ इन्चको अगाडिको पाङ्ग्रा प्रयोग गरिएको छ। यसले स्कुटरको स्थिरता, नियन्त्रण र यात्राको आराममा सुधार गर्ने कम्पनीको दाबी छ।
चितवनका लागि जगदम्बा मोटर्सका आधिकारिक विक्रेता मलाश्री मोटर्सका प्रबन्ध निर्देशक भीमसेन श्रेष्ठले टिभिएस आईक्युबको सफलतापछि अर्बिटरले पनि नेपाली विद्युतीय दुईपाङ्ग्रे बजारमा कम्पनीको उपस्थिति थप मजबुत बनाउने बताए। देशभरको बिक्री तथा सेवा सञ्जालमार्फत ग्राहकलाई खरिददेखि बिक्रीपछिको सेवासम्म सहजता प्रदान गरिने उनले बताए।
जगदम्बा मोटर्सका नेसनल सेल्स हेड सुशान्त आचार्यले नेपाली बजार र सडक अवस्थालाई ध्यानमा राखेर अर्बिटरको विकास तथा परीक्षण गरिएको बताए। आधुनिक डिजाइन, प्रविधि, दैनिक प्रयोगका सुविधा र भरपर्दो कार्यसम्पादनलाई प्राथमिकतामा राखेर स्कुटर तयार गरिएको उनको भनाइ छ।
स्मार्ट फिचरले भरिपूर्ण
अर्बिटरमा मोबाइल एपमार्फत ब्याट्री अवस्था तथा ओडोमिटर जाँच, टर्न–बाइ–टर्न नेभिगेसन, एलसीडी डिजिटल क्लस्टरमा कल तथा एसएमएस सूचना, जियो–फेन्सिङ, चोरी तथा दुर्घटना अलर्ट, पार्किङ असिस्ट, क्रुज कन्ट्रोल, हिल होल्ड असिस्ट र ओटीए अपडेटजस्ता सुविधा उपलब्ध छन्।
त्यस्तै, इको र पावर मोड, रिजेनेरेटिभ ब्रेकिङ, एलईडी हेडलाइट र यूएसबी चार्जिङ पोर्ट पनि स्कुटरमा छन्। स्कुटरमा ८४५ मिलिमिटरको फ्ल्याट सिट, २९० मिलिमिटरको स्ट्रेट–लाइन फुटबोर्ड, दुईवटा हेल्मेट अट्ने ३४ लिटरको अन्डर–सिट स्टोरेज र १६९ मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ। अर्बिटर निओन सनबर्स्ट, कोस्मिक टाइटेनियम र मार्सियन कपर गरी तीन रङमा उपलब्ध हुनेछ। कम्पनीका अनुसार यसको परिचयात्मक मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।




