काठमाडौं/सरकारले नवीकरणीय ऊर्जा तथा जलविद्युत् आयोजनामा दीर्घकालीन लगानी परिचालन गर्न पूँजी बजारमार्फत नयाँ वित्तीय साधनहरू विकास गर्ने नीति अघि सारेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा कार्यक्रमअनुसार जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा आवश्यक लगानी जुटाउन ‘ग्रीन बण्ड’ (हरित ऋणपत्र) लगायत वातावरणमैत्री वित्तीय साधनहरूको विकास गरिने उल्लेख गरिएको छ ।
स्तै, लगानीकर्तालाई लगानीको विविधीकरण गर्ने अवसर प्रदान गर्दै जलविद्युत् क्षेत्रमा सामूहिक लगानी आकर्षित गर्न एक्सचेन्ज ट्रेडेड फण्ड (ईटीएफ) सञ्चालनमा ल्याउने योजना पनि नीतिमा समावेश गरिएको छ । सेबोनको विश्वास छ कि ग्रीन बण्ड, ईटीएफ लगायतका आधुनिक वित्तीय उपकरण कार्यान्वयनमा आएपछि जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा संस्थागत तथा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्ने, पूँजी परिचालन सहज हुने र दिगो ऊर्जा विकासमा टेवा पुग्नेछ ।




