संयुक्त अरब इमिरातको दुबईमा आर्थिक रूपमा कमजोर तथा खाद्य असुरक्षामा रहेका व्यक्तिलाई लक्षित गर्दै ‘Bread for All’ नामक सामाजिक कार्यक्रम विस्तार गरिएको छ। यसअन्तर्गत सहरका विभिन्न स्थानमा जडान गरिएका स्मार्ट मेसिनमार्फत २४ घण्टा ताजा रोटी निःशुल्क उपलब्ध गराइँदै आएको छ। यो कार्यक्रम मोहम्मद बिन रासिद अल मकतूम ग्लोबल इनिसिएटिभ्स (MBRGI) र मोहम्मद बिन रासिद ग्लोबल सेन्टर फर एन्डोमेन्ट कन्सल्टेन्सीको सहकार्यमा सञ्चालन भइरहेको हो। यसको उद्देश्य आधुनिक प्रविधि र दान संस्कृतिलाई जोड्दै खाद्य सुरक्षालाई थप प्रभावकारी बनाउनु रहेको जनाइएको छ। हाल दुबईका केही मस्जिद तथा सार्वजनिक स्थानमा सीमित संख्यामा स्मार्ट मेसिन जडान गरिएको छ। ती मेसिनले आवश्यकतामा परेका व्यक्तिलाई ताजा रोटी उपलब्ध गराउनुका साथै दाताहरूले डिजिटल माध्यमबाट आर्थिक सहयोग गर्न सक्ने व्यवस्था पनि गरिएको छ।
कार्यक्रमअन्तर्गत लाभार्थीहरूले आफ्नो इमिरेट्स आईडी वा अन्य स्वीकृत परिचयको आधारमा रोटी प्राप्त गर्न सक्ने व्यवस्था छ। यसबाट सहायता वास्तविक आवश्यकतामा रहेका व्यक्तिसम्म पुग्ने र दुरुपयोग रोक्न मद्दत हुने विश्वास गरिएको छ। सामाजिक सञ्जालमा यो कार्यक्रमलाई ‘दुबईभर सबैका लागि २४/७ निःशुल्क रोटी’ भनेर प्रस्तुत गरिए पनि आधिकारिक जानकारीअनुसार यो सेवा मुख्यतः आर्थिक रूपमा कमजोर तथा खाद्य असुरक्षामा रहेका परिवारलाई लक्षित गरेर सञ्चालन गरिएको हो। दुबई सरकारले यसलाई ‘कसैले भोकै सुत्न नपरोस्’ भन्ने दीर्घकालीन सामाजिक सुरक्षा अभियानअन्तर्गत अघि बढाएको जनाएको छ।
Advertisement




