काठमाडौंमा जन्मिएका ३५ वर्षीय सिद्धार्थ काजामी अहिले अस्ट्रेलियास्थित टोयोटा कम्पनीमा लिड डिजाइनरका रूपमा कार्यरत छन्।
सानैदेखि गाडी डिजाइन गर्ने सपना बोकेका उनी स्कुलमा पढाइभन्दा गाडीको स्केच बनाउँदा शिक्षकबाट धेरै पटक गाली खाएका थिए। तर त्यही रुचिले उनलाई आज विश्वकै प्रतिष्ठित अटोमोबाइल कम्पनीसम्म पुर्याएको छ।
१२ कक्षा पछि नेपालमा गाडी डिजाइनको अध्ययनको अवसर नपाएपछि उनी सुरुमा काठमाडौं विश्वविद्यालयमा आर्ट एन्ड डिजाइन पढ्न थाले। पछि भारतको पुणेस्थित अटोमोटिभ डिजाइनिङ संस्थामा अध्ययन गरे। त्यहाँबाट अस्ट्रेलियाको फोर्ड कम्पनीमा इन्टर्नशिप गर्ने अवसर पाए र त्यसैबाट सन् २०१५ मा जागिर सुरु भयो। करिब नौ वर्ष फोर्डमा काम गरेपछि उनी एक वर्षअघि टोयोटामा आबद्ध भए।
हाल उनी गाडीको बाहिरी भाग—हेडलाइट, बम्पर, चक्का, स्टेरिङलगायतका डिजाइनमा नेतृत्वदायी भूमिका निभाइरहेका छन्। उनका अनुसार गाडी डिजाइन गर्दा आकर्षक रूप मात्र होइन, सडक सुरक्षा, बजेट, प्रविधि, ग्राहकको आवश्यकता र देशको भौगोलिक अवस्थालाई पनि ध्यान दिनुपर्छ।
नेपालका लागि आफू र आफ्नो टोलीले डिजाइन गरेको टोयोटा गाडी आगामी १–३ वर्षभित्र आउने जानकारी उनले दिएका छन्। सुरुमा वार्षिक ५०–६० हजार अस्ट्रेलियन डलर कमाउने उनी अहिले वार्षिक १–१.५ लाख अस्ट्रेलियन डलरसम्म आम्दानी गर्छन्। आफ्नै रुचिको काम गर्न पाएकामा उनी सबैभन्दा बढी सन्तुष्ट छन्।
Advertisement




