काठमाडौं/संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत पाँच नेपाली युवाले चिट्ठामार्फत जितेको ३० मिलियन दिराम (करिब १ अर्ब २३ करोड नेपाली रुपैयाँ) वैधानिक रूपमा नेपाल भित्र्याउने प्रक्रिया सुरु गरेका छन्।
गोरखाका तैयव खान, पाल्पाका सन्दीप बिक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रुपन्देहीका सुदीप न्यौपाने बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावास पुगेका थिए। उनीहरूले उक्त रकमलाई नेपाल सरकारको नीति र कानुनअनुसार सुरक्षित तथा वैधानिक माध्यमबाट स्वदेश पठाउन आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेका हुन्।
नेपाली राजदूत तेजबहादुर क्षेत्रीसँगको भेटमा विजेता युवाहरूले आफूहरूले प्राप्त गरेको रकम नेपालमै लगानी गर्ने इच्छा व्यक्त गरेका थिए। राजदूत क्षेत्रीले रकम नेपाल भित्र्याउने सम्पूर्ण प्रक्रियामा दूतावासले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
राजदूत क्षेत्रीले उनीहरूलाई नेपालमा उत्पादन, रोजगारी र आर्थिक समृद्धिमा योगदान पुग्ने क्षेत्रमा लगानी गर्न सुझाव दिएका छन्। साथै, पुँजीको सही सदुपयोग गर्दै दीर्घकालीन प्रतिफल दिने परियोजनामा लगानी गर्न आग्रह गरेका छन्।
Advertisement




