काठमाडौं/सामाजिक न्याय, सुशासन र नागरिक सचेतनाको प्रवर्द्धनमा खोज पत्रकारितामार्फत उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पत्रकार जीवन शर्मालाई ‘खोजी पत्रकारिता सम्मान–२०८३’ प्रदान गरिएको छ। ओझेलमा परेका यथार्थ, उत्पीडित समुदायका वेदना तथा सीमान्तकृत नागरिकका आवाजलाई तथ्य र प्रमाणका आधारमा निर्भीकतापूर्वक सार्वजनिक गर्दै खोज पत्रकारिताको क्षेत्रमा पुर्याएको विशिष्ट योगदानको कदरस्वरूप कोरिया शैक्षिक परामर्श संघ नेपाल (केकान) ले शर्मालाई उक्त सम्मान प्रदान गरेको हो। संस्थाले उनको वैचारिक स्पष्टता, व्यावसायिक निष्ठा र सार्वजनिक उत्तरदायित्वप्रतिको समर्पणलाई सम्मानको प्रमुख आधार मानेको जनाएको छ।
को हुन सम्मानित शर्मा ?
गोरखा जिल्लाको साविक दहरबुङ्गा गाविस–६ (हाल गण्डकी गाउँपालिका–५) मा वि.सं. २०४० साल कार्तिक १५ गते जन्मिएका शर्माले सामान्य ग्रामीण परिवेशबाट संघर्षपूर्ण जीवनयात्रा प्रारम्भ गरेका थिए। पिता विष्णुप्रसाद खनाल र माता दुर्गादेवी खनालका जेष्ठ सुपुत्र शर्माले विपरीत परिस्थितिलाई अवसरमा रूपान्तरण गर्दै पत्रकारितालाई जीवनको कर्मक्षेत्र बनाए।
वि.सं. २०६१ वैशाख १४ गते न्यु एक्टिभ मिडियाबाट पत्रकारिता तालिम लिएपछि उनले पोखरा एफएम ९५.८ मेगाहर्जबाट प्रसारित ‘लोक सुसेली’ र ‘पल प्रति पल’ कार्यक्रममार्फत सञ्चार यात्राको थालनी गरेका थिए। त्यसयता रेडियो, छापा र अनलाइन माध्यमबाट जनसरोकारका विविध विषयमा कलम चलाउँदै उनले खोज पत्रकारितामा आफ्नो छुट्टै पहिचान निर्माण गरेका छन्।
नेसनल अफ्लिमेन्ट,न्युजलाइन्स नेपाल डटकम.पाक्षिक,डिजिटल खबर हुदै अनुसन्धानमूलक समाचार, विशेष रिपोर्ट र फिचरहरू स्थानीय सरोकार, जनसवाल राष्ट्रिय दैनिक तथा मध्यान्ह दैनिक लगायतका सञ्चारमाध्यममा बिशेश लेख प्रकाशित हुँदै आएका छन्। सीमावर्ती क्षेत्रका अनियमितता, वन पैदावार तस्करी, सार्वजनिक सम्पत्तिको दुरुपयोग, भ्रष्टाचार, प्रशासनिक विकृति र अवैध कारोबारजस्ता विषयमा उनले तयार पारेका सामग्रीले सम्बन्धित निकायलाई जवाफदेही बन्न दबाब सिर्जना गर्नुका साथै समाजमा सकारात्मक बहसको वातावरण निर्माण गरेको छ।
हाल स्थानीय सरोकार पत्रिका तथा निगरानी दैनिक डटकम सञ्चालन गरिरहेका शर्माले सत्य, तथ्य र प्रमाणमा आधारित पत्रकारितामार्फत लोकतान्त्रिक मूल्य, सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।




