चितवन । शैक्षिक गुणस्तरमा ख्याती कमाएको चितवनको पुरानो सामुदायिक विद्यालय आदिकवि भानुभक्त माध्यमिक विद्यालयले आफ्नो ५७औँ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गर्दै मनाएको छ।
भरतपुर महानगरपालिका–१, नारायणघाटमा अवस्थित विद्यालयले विगतदेखि वर्तमानसम्मको शैक्षिक अवस्थाको समीक्षा गर्दै शैक्षिक प्रगतिमा हासिल गरेको सफलताबारे चर्चा गरेको थियो। विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उल्लेख्य सफलता हासिल गर्दै महानगरका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट स्थान बनाएको जनाइएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र थापामगरले विद्यार्थी संख्याका आधारमा विद्यालय महानगरको दोस्रो ठूलो भएको उल्लेख गर्दै शैक्षिक अवस्था पनि सन्तोषजनक रहेको बताए। उनले विद्यालयको शैक्षिक गुणस्तर थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष केशव महर्जनले सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न अभिभावकको सक्रिय सहभागिता र भौतिक पूर्वाधारमा लगानी अपरिहार्य रहेको बताए।
विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक रामजीप्रसाद अधिकारीले एसईई नतिजाका आधारमा विद्यालय महानगरका उत्कृष्ट सामुदायिक विद्यालयमध्ये पर्न सफल भएको जानकारी गराउँदै शैक्षिक स्तर अझ सुधार गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए। स्थापना दिवसको अवसरमा होटल व्यवस्थापन संकायका विद्यार्थीहरूले फुड स्टल सञ्चालन गरेका थिए भने विद्यालय नर्सको संयोजकत्वमा आयोजित स्वास्थ्य शिविरमा अभिभावकहरूले रक्तचाप र मधुमेह परीक्षण गराएका थिए।
कार्यक्रममा शिक्षक प्रतिनिधि दिपेश रायले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहायक प्रधानाध्यापक डम्बरबहादुर शाहीले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा देवघाट विकास समितिका पूर्व अध्यक्ष टंकनाथ पौडेल, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरू, सल्लाहकार समिति पूर्व संयोजक शैलेन्द्र पिया, चन्दादाता रमेश श्रेष्ठ, सल्लाहकार सुरेश अधिकारी, बद्रीप्रसाद अधिकारी, रमाकान्त सापकोटा, डिबी परियार, शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुप्रसाद न्यौपानेलगायतले शुभकामना मन्तव्य राखेका थिए।




