काठमाडौं/नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्रबाट ‘नेपाली कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरिएको छ । सोमबार (पुस २८) भृकुटीमण्डमा भएको बन्दसत्रबाट पारित कार्यविधिमा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधान समावेश छ । कार्यविधिमा कांग्रेसको १४औँ महाधिवेशन ०७८ (मंसिर २४ देखि २८)देखिको निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका निम्ति नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित गर्ने प्रावधान उल्लेख छ ।
यस्तै, विशेष केन्द्रीय महाधिवेशनको अध्यक्षता पार्टीको सभापतिले गर्नेछन्, निज अनुपस्थित भएको खण्डमा महाधिवेशनमा उपस्थित ज्येष्ठ सदस्यले गर्ने व्यवस्था उल्लेख छ । ज्येष्ठ सदस्यको अध्यक्षतामा विशेष केन्द्रीय महाधिवेशनको बन्दसत्र सञ्चालन भएको अवस्थामा बन्दसत्र कार्यक्रमको सहजता र निरन्तरताका निम्ति महाधिवेशन प्रतिनिधिमध्ये पाँच सदस्यीय अध्यक्षतामण्डल गठन गरिने कार्यविधिमा उल्लेख छ । रासस




