इच्छाकामना, २० असोज/चितवन उद्योग संघ इच्छाकामना इकाई समितिको प्रथम साधारण–सभा सम्पन्न भएको छ । इच्छाकामना इकाई समितिका अध्यक्ष अम्बर बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न साधारण–सभामा चितवन उद्योग संघका बरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रमुख अतिथि रहनुभएको थियो ।
प्रमुख अतिथि कँडेलले चितवन उद्योग संघ र चितवन औद्योगिक विकास साकोसका गतिविधि र उद्योगी र संघबीचको सहकार्यका बारेमा प्रष्ट पार्नुभएको थियो । साधारण सभामा चितवन उद्योग संघका कार्यसमिति सदस्य मदन चिरञ्जीवी पोखरेल, प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, संघका स्टोर किपर उमेश श्रेष्ठ लगायत इच्छाकामना क्षेत्रका उद्योगीहरुको उपस्थिति रहेको थियो ।
इच्छाकामना इकाई समितिका अध्यक्ष अम्बर बहादुर अधिकारीले प्रस्तुत गर्नुभएको बार्षिक कार्यप्रगति र भावी योजना समावेश भएको अध्यक्षको प्रतिवेदन, कोषाध्यक्ष नरबहादुर नेपालले प्रस्तुत गर्नुभएको आ.व.०७६/०७७ को आर्थिक प्रतिवेदन माथि छलफल गरी सभाका सदस्यहरुले सर्वसम्मत रुपमा पास गरेका थिए ।
चितवन उद्योग संघका प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेलले सञ्चालन गर्नुभएको साधारण सभाको इच्छाकामना इकाई समितिका उपाध्यक्ष शिव शर्माले धन्यवाद मन्तव्य सहित साधारण सभाको समापन गर्नुभएको थियो ।




