भोजपुर/भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानीखेतीबाट वार्षिक रु ५५ लाख आम्दानी गर्दै आएका छन् । आफ्नै गाउँमा कृषिकर्मबाट उद्यमी बन्ने लक्ष्यका साथ उनले ४२ रोपनी क्षेत्रमा करिब ३२ हजार बोट खुर्सानीखेती गरेका हुन् । आफ्नै ठाउँमा कृषिकर्म गरेर उदाहरणीय बन्ने उद्देश्यले व्यावसायिक खुर्सानी खेतीमा जुटेको राईले बताए । करिब आठ वर्षअघिदेखि मौसमी र बेमौसमी दुवै प्रकारका खुर्सानीखेती गर्दै आएका उनी जिल्लाका परिचित खुर्सानी किसान हुन् ।
‘खुर्सानीखेतीबाट वार्षिक रु ५५ देखि रु ६० लाखसम्म आम्दानी गर्छु’, किसान राईले भने, ‘४२ रोपनी जग्गा भाडामा लिएर ३२ हजार हाराहारी बोट लगाएको छु । गत वर्ष पनि रु ५० लाख बढी आम्दानी भएको थियो।’ खुर्सानीखेतीका लागि उनले वार्षिक रु दुई लाख तिरेर ६५ रोपनी जग्गा भाडामा लिएको जानकारी दिए । यसवर्ष खेतीका लागि करिब रु १२ लाख लगानी गरेको जनाउँदै उहाँले युवामा विदेशप्रतिको मोह बढिरहेको समयमा आफूले भने आफ्नै बारीमा व्यावसायिक रूपमा कृषिकर्म गरिरहेको बताए ।




