चितवन/चितवनको रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहान काम गर्ने क्रममा उद्योगभित्रको इँटाको पर्खाल अचानक भत्किँदा मजदुरहरु माटोमुनि परेका थिए। घाइते अवस्थामा अस्पताल पुर्याइएका तीमध्ये तीन जनाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई रत्ननगर–१२ बस्ने ५४ वर्षीय रेशम दराई र सोही वडाका ४५ वर्षीय कमल गुरुङ रहेका छन्।
घाइते हुनेमा पर्सा घर भई रत्ननगर–१२ बस्ने ३९ वर्षीय जितेन्द्र महतो र ४० वर्षीय अंकजप्रसाद थारु छन्। उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रत्ननगरका डीएसपी सुवास भट्टका अनुसार उद्योगभित्र पार्टिसन गरिएको १० इन्च बाक्लो इँटाको गाह्रो अचानक भत्किँदा घटना भएको हो। उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए।




