दिव्यनगर/भरतपुर–२६ स्थित आदर्श माध्यमिक विद्यालयले आइतबार भव्यतापूर्वक वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम भदौ २४ मा आयोजना गर्ने तयारी गरिएको भए पनि जेनजी आन्दोलनका कारण समयमै सञ्चालन हुन सकेको थिएन। कार्यक्रमको अध्यक्षता विद्यालयका अध्यक्ष ऋषिराम भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथि वडा अध्यक्ष ज्ञानप्रसाद खनाल रहनुभयो। प्रधानाध्यापक मित्रबन्धु चापागाईँले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक प्रगति, प्रशासनिक व्यवस्थापन, भौतिक पूर्वाधार विकास र शैक्षिक गतिविधिहरूको विवरण प्रस्तुत गर्नुभयो। विद्यार्थी मेरिना चापागाईँ, दीपशिखा महतो र प्रविष्टि पौडेलले कार्यक्रममा सहभागी सबैलाई शुभकामना व्यक्त गर्दै विद्यालयको शैक्षिक स्तर अझ उच्च बनाउन आवश्यक कदमहरूको सुझाव दिएका थिए। दान आशा फाउन्डेसनका कार्यक्रम संयोजक डम्बरबहादुर गुरुङ, पूर्व प्रधानाध्यापक चन्द्रदत्त सुवेदी, रामभक्त वाग्ले, वडा सदस्य सावित्री कोइराला ढकाल, बुद्धिबहादुर गुरुङ, चित्रलाल शेरचन, र पूर्व उपप्रधानमन्त्री एवम् पूर्व प्रदेश प्रमुख अमिक शेरचनले विद्यालयको प्रगतिमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा विद्यार्थीहरूलाई शैक्षिक र शैक्षिक गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने आधारमा पुरस्कृत गरियो। उत्कृष्ट शिक्षक र कर्मचारीलाई सम्मान प्रदान गरियो भने उत्कृष्ट नतिजा ल्याउने विषय शिक्षकलाई पनि सम्मान गरिएको थियो। विशेष गरी, विद्यालयका पूर्व विद्यार्थी तथा शिक्षा प्रेमी दिवङ्गत कृष्णकान्त अधिकारी र हरिमाया अधिकारीको सम्मानमा उहाँका परिवारजनले आदर्श अक्षय कोषमा रु पाँच लाख पाँच हजार पाँच सय पचपन्न उपलब्ध गराउनुभयो। उक्त कोषबाट विद्यालयमा अध्ययनरत गरिब र प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ।
कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्य र नाट्य प्रस्तुति प्रस्तुत गरे। फरक क्षमता भएका बालबालिकाले पनि आफ्नो प्रतिभा प्रस्तुत गरे। स्वागत सहायक प्रधानाध्यापक देवकुमार बस्यालले गर्नुभएको थियो भने शिक्षक लक्ष्मण खनालले कविता वाचन गर्नुभयो। कार्यक्रमको सञ्चालन शिक्षक तारा सापकोटाले गर्नुभएको थियो। समापन मन्तव्यमा प्रमुख अतिथि खनालले विद्यालयले स्थानीय क्षेत्रको शैक्षिक उत्थानमा खेलेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि वडा कार्यालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालयले आगामी दिनमा विद्यार्थीहरूको प्रतिभा विकास, शिक्षकको क्षमतामा वृद्धि र स्थानीय समुदायसँग सहकार्यलाई निरन्तरता दिने योजना रहेको जनाएको छ।




