चितवन/नारायणगढ–मुग्लिन सडकखण्डमा अलपत्र परेका यात्रुलाई नेकपा (एमाले) चितवन स्वास्थ्य विभाग र राष्ट्रिय युवा संघ नेपाल भरतपुर महानगर कमिटीले औषधि र खानेकुरा वितरण गरेको छ । बिहानैबाट खानेकुरा र चिकित्सक नै लगेर औषधि वितरण गर्न सुरु गरिएको हो । वितरण कार्यमा स्वास्थ्य विभाग, युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा शुक्रबार साँझ पहिलो खस्दा अवरुद्ध बनेको सडक अझैसम्म सञ्चालनमा आउन सकेको छैन । शनिबार दिनभरि पहिरो पन्छाउँदा समेत नसकिएपछि आज पनि बिहानैबाट पहिरो पन्छाउने काम जारी छ । रातका समयमा काम गर्न कठिन हुने भएकाले शनिबार साँझदेखि आज बिहानसम्म पहिरो पन्छाउने काम रोकिएको थियो । पहिरो पन्छाउने क्रममा माथिबाट पुनः पहिरो खसिरहेकाले पन्छाउन समय लागेको डिभिजन सडक कार्यालय भरतपुर चितवनले जनाएको छ ।
पहिरो पन्छाउनका लागि मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण प्रयोग गरिएको छ । पुनः पहिरो नखसे आज साँझ सम्ममा सडक सञ्चालनमा ल्याउन सकिने सडक डिभिजनले जनाएको छ । पहिरोका कारण सडकमा शुक्रबारदेखि यात्रु तथा सवारीसाधन अलपत्र परेका छन् । अलपत्र परेका यात्रुलाई विभिन्न सामाजिक संघ संस्थाले खानेकुरा सहयोग गरिरहेका छन् ।
Advertisement




