नवलपरासी/जिल्ला बाल क्लब नवलपरासी बर्दघाट सुस्ता पूर्वले यस वर्षको राष्ट्रिय बाल दिवस (भदौ २९) कुनै पनि औपचारिक कार्यक्रम नगरी श्रदाञ्जली र शोकसभा गरेर मात्र मनाउने निर्णय गरेको छ। क्लबले विज्ञप्ति जारी गर्दै हाल देशभर भइरहेको जेन–जी आन्दोलनमा मृत्यु भएका विद्यार्थीहरूको बलिदानप्रति सम्मान प्रकट गर्ने भन्दै यस वर्ष उत्सवभन्दा प्रतिरोधको बाटो रोजिएको जनाएको छ।

“सडकमा भविष्यको खोजी गर्दै निस्किएका हाम्रो उमेरकै साथीहरू आज हामीसँग छैनन्। उनीहरूको सपना र संघर्षलाई सम्मान गर्न हामीले बाल दिवसलाई उत्सवको रूपमा होइन, चेतना र प्रतिरोधको दिनका रूपमा आत्मसात गर्ने छौं,” विज्ञप्तिमा भनिएको छ। क्लबले मिठाई बाँडेर, भाषण गरेर वा रंगीन कार्यक्रम गरेर बाल दिवस मनाउनु भनेको दिवंगत युवाको रगतलाई बिर्सनु भएको भन्दै त्यसलाई अस्वीकार गरिएको जनाएको छ।
यसै सन्दर्भमा, क्लबले भदौ २४ गते आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन कार्यक्रम गर्ने तथा सम्पूर्ण स्थानीय निकाय, विद्यालय र टोलस्तरीय बाल क्लबहरूलाई पनि यस वर्ष औपचारिक कार्यक्रम नगरी श्रदाञ्जली र शोकसभा गर्न आग्रह गरेको छ। विज्ञप्ति क्लबका अध्यक्ष शिशिर आचार्य द्वारा हस्ताक्षरित छ।




