काठमाडौँ/राजधानीको नयाँ बानेश्वरमा आयोजित जेनजीको प्रदर्शनमा सुरक्षा निकायले गरेको बल प्रयोगपछि मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । विभिन्न अस्पतालमा १२३ जना घाइतेको उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार सिभिल अस्पतालमा मात्रै ५० जना घाइते उपचाररत छन् । सोही अस्पतालमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । काठमाडौँ मेडिकल कलेजमा १४ जना घाइते पुगेका छन्, जसमा दुई जना गम्भीर अवस्थामा छन् । त्यसमध्ये एक जनाको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा १३ जना घाइते पुगेका छन् भने एक जनाको मृत्यु भएको छ । ट्रमा सेन्टरमा ४० जना घाइतेलाई भर्ना गरिएको छ, जहाँ ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै सिभिल अस्पतालमा ३ जना, एमरेष्ट अस्पतालमा ३ जना, केएमसी अस्पतालमा एक जना र शिक्षण अस्पतालमा एक जनाको मृत्यु भइसकेको प्रहरी स्रोतले जनाएको छ । त्यस्तै, पाटन अस्पतालमा दुई, बी एण्ड बी अस्पतालमा एक, भेनस अस्पतालमा दुई (प्रहरी ओमबहादुर राणा र दिपक सिजाली) र बयोदा अस्पतालमा एक महिला उपचाररत छन् ।




