चितवन/भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको पाइएको छ । काठमाडौँको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए । अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं विभागीय प्रमुख प्रा डा सुनिलमणि पोखरेलले अस्पतालमा गत आव २०८१/८२ मा आठ हजार ३१८ गर्भवतीले प्रसूति सेवा लिएको जानकारी दिनुभयो ।
यसमध्ये चार हजार ३८३ जना (५२ दशमलव ४५ प्रतिशत)को सामान्य प्रसूति (नर्मल डेलिभरी), तीन हजार ७६७ जना (४५ दशमलव २८ प्रतिशत) को शल्यक्रिया (सिजेरियन डेलिभरी) र १८८ जना (२ दशमलव २६ प्रतिशत)को जटिल प्रसूति भएको थियो । अघिल्लो आव २०८०/८१ मा नौ हजार ३५५ र त्यसअघि आव २०७९/८० मा ११ हजार ८९४ गर्भवतीले प्रसूति सेवा लिएका थिए । ‘केही वर्षअघि वार्षिक १६ हजारसम्मले यहाँ सेवा लिएका थिए , डा पोखरेलले भन्नुभयो, अहिले क्रमशः घट्ने क्रममा गएको छ ।’ देशभरकै तथ्याङ्कमा ३० प्रतिशत हाराहारी घटेको भन्दै उहाँले बच्चा जन्माउने उमेरका युवायुवती विदेशिएको बताउनुभयो ।
विगतमा गाउँगाउँ र छिमेकी जिल्लाबाट प्रसूति सेवा लिन आउनेको सङ्ख्या धेरै हुने गरेको थियो । पछिल्लो समय जिल्ला र नगरहरुमा प्रसूति सेवा विस्तार भएसँगै भरतपुर अस्पतालको चाप घटेको उहाको भनाई छ । ‘नगर अस्पताल र बर्थिङ सेन्टरमा प्रसूति सेवाको विस्तार भएपछि भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या घट्दै छ ।’ उहाले भन्नुभयो । निजी अस्पतालमा सङ्ख्या बढेर सरकारी अस्पतालमा घटेको नभई स्थानीयस्तरमा नै सेवा पाएकाले यहाँ घटेको उहाको भनाइ छ ।




