- कृष्ण खनाल
कम्युनिस्ट पार्टीका सँस्थापक नेता पुष्पलाल श्रेष्ठकाे ४७ अैाँ स्मृति सभा सङ्गितमय हुने भएकाे छ। राष्ट्रिय जनसांस्कृतिक महासंघ बागमती प्रदेशको आयोजनामा आगामी साउन ७ गते वहाँ कै घर रामेछापको भँगेरीमा स्मृति सभा आयोजना हुने भएको हाे।
प्रदेश उपसचिव राेजी डँगाेलका अनुसार सँगितमय हुने साे स्मृति सभामा पुष्पलालको योगदान, व्यक्तित्व र दृष्टिकोणमाथि सर्जकहरूले कविता, गीत र संस्मरणमार्फत सम्मान जनाउने छ।
* पुष्पलाल श्रेष्ठ-
विक्रम सम्वत १९८१ साल असार १५ गते जन्मिएका पुष्पलाल श्रेष्ठ नेपालको कम्युनिस्ट आन्दोलनका संस्थापक मात्र होइन, मजदुर, किसान र उत्पीडित वर्गको हकहितका लागि आवाज उठाउने अद्भुत संगठनकर्ता पनि थिए। उनले भारतको कलकत्तामा अध्ययन गर्दा वामपन्थी आन्दोलनबाट प्रेरणा लिएर नेपाल फर्किएपछि २००७सालको परिवर्तनमा सक्रिय भूमिकासमेत निर्वाह गरेका थिए।
२००८ सालको क्रान्तिपछि राणा शासन अन्त्य भए पनि वर्गीय र सामन्ती शोषण अन्त्य नहुँदा पुष्पलालले मजदुर-किसानको मुक्तिको एजेण्डा अघि बढाउन नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए।
२००६ साल वैशाख १० गते काेलकत्ताकाे श्यामबजारमा पुष्पलाल,नरवहनदुर कर्माचार्य,निरञ्जन गाेविन्द बैध्य,नारायण विशाल जाेशी र माेतीदेबी श्रेष्ठले नेपाल कम्युनिस्ट पार्टी स्थापना गरी उनी पहिलो महासचिवको जिम्मेवारी सम्हालेका थिए।
* नेपाल कम्युनिस्ट पार्टी र पुष्पलाल-
नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नु पुष्पलालको सबैभन्दा ठूलो ऐतिहासिक कदम हो। उनले कम्युनिस्ट आन्दोलनलाई जनताको आधारसम्म पुर्याउने अभियान थाले। कृषिमा जोत्ने नै जग्गाकाे मालिक हुने नीति, भूमिसुधार, सामन्तवादको अन्त्य, श्रमजीवी वर्गको अधिकारजस्ता सवालमा उनको दृष्टिकोण स्पष्ट थियो।
उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसँग समन्वय गर्दै नेपाली माटोमा सुहाउँदो विचार र संगठन निर्माणमा जोड दिएका थिए। पुष्पलालकै नेतृत्वमा तत्कालीन अवस्थामा सामन्ती शासन, राजाको प्रत्यक्ष शासन र विदेशी प्रभुत्वविरुद्ध कम्युनिस्ट आन्दोलनले मुखरता पाएको थियो। उनले पार्टी फुटपछि पनि प्रजातन्त्र, राष्ट्रियता र जनजीविकाको सवालमा कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन निरन्तर लेख, पर्चा, प्रशिक्षण र संगठन विस्तारमा आफूलाई समर्पित गरेका थिए।
* नेपाली समाजमा पुष्पलालको योगदान-
पुष्पलालको योगदान राजनीतिमा मात्र सीमित रहेन। उनले नेपाली साहित्य, पत्रकारिता र जनसंस्कृतिमा पनि क्रान्तिकारी चेतनाको विकासमा महत्त्वपूर्ण भूमिका खेले। उनले विपन्न वर्ग र गाउँ गाउँमा शोषित समुदायका आवाज बनेर सामाजिक न्याय र समानताको पक्षमा नेपाली समाजलाई सचेत गराए।
नेपाली राजनीतिलाई वामपन्थी आन्दोलनको धार दिनु, मजदुर-किसानका सवाललाई राजनीतिक एजेण्डामा बदल्नु र दलित तथा महिलाको सहभागितालाई महत्त्व दिनु उनका ऐतिहासिक योगदान हुन्। आज पनि नेकपा, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र अन्य वामपन्थी शक्तिहरू पुष्पलाललाई मार्गदर्शक मान्दै आएका छन्।
* स्मृति सभामा के-के हुने?
राष्ट्रिय जनसांस्कृतिक महासंघ बागमती प्रदेशले आयोजना गर्न लागेको स्मृति सभामा पुष्पलालको जीवन र दृष्टिकोणमाथि कवि, लेखक, सांस्कृतिकर्मीहरूबाट कविता, गीत र संस्मरण प्रस्तुत गरिनेछ। वर्तमान नेपाली राजनीतिका विषयमा विज्ञ नेताहरुद्वारा धारणा राख्नुका साथै उनको योगदानबारे छलफल, वामपन्थी आन्दोलनका हालका चुनौती र भविष्यमाथि विचार आदानप्रदान गरिने कार्यक्रम रहेको अध्यक्षले जानकारी दिएका छन्।
नेपालको वामपन्थी आन्दोलनका महान स्रष्टा पुष्पलाल श्रेष्ठको स्मृति दिवसमार्फत वर्तमान पुस्ताले उनको त्याग, दृष्टिकोण र योगदानलाई स्मरण गर्दै न्याय, समानता र समाजवाद उन्मुख समाज निर्माणमा लाग्न प्रेरणा लिने अपेक्षा गरिएको छ।




