चितवन/ भरतपुर महानगरपालिका वडा नं. १ अन्तर्गत ठिमुरा स्वास्थ्य चौकीमा आज (शनिवार) निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । काठमाडौँ चेली समूहको आयोजनामा तथा भरतपुर आँखा अस्पताल र ठिमुरा स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा १२७ जनाले आँखा परीक्षण गराएका छन् ।

बालबालिका देखि ज्येष्ठ नागरिकसम्मले सहभागिता जनाएको शिविरमा १२ जनालाई मोतियाविन्दु देखिएकाले शल्यक्रियाका लागि भरतपुर आँखा अस्पतालमा रिफर गरिएको छ। भरतपुर आँखा अस्पतालको आँखाको नानी सङ्कलन केन्द्रकी संयोजक छाया श्रेष्ठका अनुसार ३७ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ भने सबै सेवाग्राहीलाई आवश्यक औषधिहरू निःशुल्क प्रदान गरिएको छ ।

काठमाडौँ माइती भई चितवन आएका महिलाहरूको संस्थागत पहलमा स्थापना भएको “काठमाडौँ चेली समूह”ले स्वास्थ्य क्षेत्रमा पहिलोपटक काम गर्नुभएको हो । यसअघि समूहले चेपाङ बस्तीमा खाद्यान्न वितरण लगायतका सामाजिक कार्यक्रम गर्दै आएको समूहकी अध्यक्ष मञ्जु खयरगोलीले जानकारी दिनुभयो । वडा नम्बर १ का अध्यक्ष केशव महर्जनका अनुसार नारायणघाट बजार नजिकै भए पनि ठिमुरा भौगोलिक रूपले केही कोल्टो परेको क्षेत्र भएकोले यहाँका बासिन्दाहरू सहज रूपमा स्वास्थ्य सेवामा पहुँच बनाउन कठिन महसुस गर्दै आएका थिए। “शिविर आगनमै सञ्चालन हुँदा ओझेलमा परेका समस्या उजागर हुनुका साथै समाधान पनि भएको उहाँको भनाइ रहेको छ ।स्थानीय स्तरमा बेलाबेला सञ्चालन गरिने यस्ता शिविरले वडाबासीलाई प्रत्यक्ष लाभ पुगिरहेको समेत महर्जनले बताउनुभयो ।




